Harsamaya
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन
काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका छन् ।

काठमाडौं - काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका छन् ।

त्रियुगा नगरपालिका–२ का नवीन राईकी छोरी नियामा राईको पेटमा रहेको टेरेटोमा नामक ट्युमर शल्यक्रियामार्फत पूर्ण रूपमा निकालिएको हो।

करिब डेढ महिनादेखि बान्ता हुने र ज्वरो आउने समस्या देखिएपछि अभिभावकले नियामालाई उपचारका लागि केएमसी ल्याएका थिए । स्वास्थ्य परीक्षणका क्रममा पेटभित्र असामान्य रूपमा ठूलो ट्युमर रहेको शंका भएपछि सीटी स्क्यान गरिएको थियो। सीटी स्क्यानमा पेटभित्र ठूलो आकारको ट्युमर रहेको र त्यसले आसपासका महत्वपूर्ण अंग तथा रक्तनलीमा दबाब दिइरहेको देखिएको थियो ।

चिकित्सकका अनुसार ट्युमरले मिर्गौलालाई तलतिर र फोक्सोलाई माथितिर धकेलेको थियो। त्यस्तै, मुटुबाट शरीरको तल्लो भागतर्फ रगत लैजाने प्रमुख रक्तनलीमा समेत ट्युमरको दबाब परेको थियो।

ट्युमरको आकार ठूलो भएकाले शल्यक्रिया गरेर निकाल्ने निर्णय गरिएको थियो। डा. आशीषलाल श्रेष्ठको नेतृत्वमा चिकित्सकको टोलीले करिब तीन घण्टा लगाएर जटिल शल्यक्रिया गरेको थियो। शल्यक्रियाका क्रममा महत्वपूर्ण रक्तनली तथा आसपासका अंगमा चोट पुग्न सक्ने जोखिम रहे पनि चिकित्सकको टोलीले सावधानीपूर्वक ट्युमर पूर्ण रूपमा निकाल्न सफल भएको हो। शल्यक्रियापछि नियामाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ र उनी पूर्ण रूपमा स्वस्थ भएर घर फर्कने तयारीमा छिन्। 

ट्युमर पूर्ण रूपमा निकालिएकाले भविष्यमा सोही समस्या दोहोरिने वा ट्युमर पुनः फैलिने सम्भावना निकै कम रहेको डा. श्रेष्ठले बताए । चिकित्सकका अनुसार टेरेटोमा जन्मजात रूपमा विकसित हुने ट्युमर हो । 

यसको विकासको निश्चित कारण सधैं पहिचान गर्न सकिँदैन, नियामाको हकमा पनि ट्युमर यति ठूलो भइसक्दासम्म स्पष्ट लक्षण नदेखिएका कारण समस्या ढिलो पहिचान भएको हुनसक्ने चिकित्सकको अनुमान छ।

समयमै उपचार हुन नसकेको भए ट्युमरले मिर्गौला, फोक्सो तथा पेटभित्रका अन्य अंगको विकास र कार्य सञ्चालनमा गम्भीर असर पार्न सक्ने अवस्था रहेको चिकित्सकले बताए। ट्युमरले सानो आन्द्रामा अवरोध सिर्जना गर्न सक्ने र त्यसबाट खाना नपच्ने, बान्ता हुनेलगायतका समस्या देखिन सक्थे। तर समयमै शल्यक्रिया भएकाले नियामालाई त्यस्ता जटिलताबाट जोगाउन सकिएको चिकित्सकको भनाइ छ।

यस उमेरकी बालिकाको पेटमा यति ठूलो ट्युमर भेटिनु असामान्य अवस्था भएको डा. श्रेष्ठले बताए । ट्युमरको आकार बढ्दै गए पनि सुरुवाती चरणमा खासै लक्षण नदेखिएकाले उपचारका लागि अस्पताल आउन ढिलाइ भएको हुनसक्ने उनको अनुमान छ ।

छोरीको सफल उपचारपछि नियामाका बुबा नवीन राईले आफूले छोरीको पेटमा यति ठूलो ट्युमर रहेको कल्पनासमेत नगरेको बताए । ट्युमरबारे थाहा पाएपछि आफू निकै आत्तिएको उल्लेख गर्दै उनले केएमसीका चिकित्सक तथा उपचार टोलीप्रति कृतज्ञता व्यक्त गरे।

‘छोरीको पेटमा यति ठूलो ट्युमर छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ। त्यो थाहा पाएपछि मेरो दिमागले नै काम गरेन। तर केएमसीका डाक्टरहरूको टोलीले सफल शल्यक्रिया गरेर मेरी छोरीलाई बचाइदिनुभयो। उहाँहरूलाई धेरै–धेरै धन्यवाद,’ उनले भने । 

छोरीको जटिल शल्यक्रिया सफल भई स्वास्थ्यमा सुधार आएपछि राई परिवारले केएमसीका चिकित्सक, नर्सिङ टोली तथा सम्पूर्ण उपचार टोलीप्रति विशेष आभार व्यक्त गरेको छ। छोरीको जीवन जोगाउन सफल उपचारका लागि उनीहरूले अस्पतालप्रति धन्यवाद ज्ञापन गरेका छन् । 

नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनील शर्माको पहलमा सञ्चालन हुँदै आएको केएमसीले आर्थिक रूपमा कमजोर तथा जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई उपचारमा सहयोग गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update