Harsamaya
 भक्तजनमाथि चक्कु प्रहारप्रति पाँचपोखरीको गम्भीर ध्यानाकर्षण

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरीमा जनैपूर्णिमाका दिन पाँच भक्तजनमाथि धारिलो हतियार प्रहार भएको घटनाप्रति पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

भदौ १२ गते गाउँपालिकाकै स्थानीय व्यक्तिबाट भएको हतियार प्रहारबाट पाँच जना घाइते भएका थिए। घटनालगत्तै गाउँपालिकाले वडा नं. ३ का जनप्रतिनिधि, पाँचपोखरी संरक्षण क्षेत्र विकास समिति, नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गरी उद्धार थालेको जनाएको छ।

नेपाली सेना र गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा घाइतेको प्राथमिक उपचार गरिएको थियो। गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भए पनि प्रतिकूल मौसम र बाक्लो हुस्सुका कारण उडान सम्भव नभएपछि स्थानीय होटल व्यवसायीहरूले घाइतेलाई करिब आठ घण्टा पैदल बोकेर देउरालीसम्म पुर्‍याएका थिए।

देउरालीमा तयारी अवस्थामा राखिएका गाउँपालिकाका दुई एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल पठाइएको थियो। भारी वर्षाका कारण सडक अवरुद्ध भएपछि गाउँपालिकाले जेसीबी परिचालन गरी बाटो खुलाएर गम्भीर घाइतेलाई धुलिखेल अस्पताल पुर्‍याएको थियो। अन्य घाइतेलाई पाँचपोखरी प्राथमिक अस्पतालमा उपचार तथा खानाबासको व्यवस्था गरी भोलिपल्ट नर्भिक अस्पताल, काठमाडौँ पठाइएको गाउँपालिकाले जनाएको छ।

गाउँ कार्यपालिकाको भदौ १५ गते बसेको बैठकले घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कानुनी कारबाहीका लागि प्रशासनलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ।

साथै, भक्तजन तथा घाइतेका परिवारसँग गाउँपालिकाले क्षमायाचना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पाँचपोखरी क्षेत्रको दीर्घकालीन सुरक्षा, स्वास्थ्य तथा पर्यटक सुरक्षाका लागि सर्वपक्षीय बैठक गरी ठोस निर्णय लिने जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update