Harsamaya
गरिमा चौधरीको न्यायका लागि इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको प्रदर्शन
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको शनिबार प्रदर्शन ।

काठमाडौं - तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्याको विरोधमा इन्डिपेन्डेन्ट मदर्स अफ नेपालले शनिबार काठमाडौंको शान्तिवाटिका, रत्नपार्कमा प्रदर्शन गरेको छ ।

बालिकामाथि भएको जघन्य अपराधको विरोध गर्दै प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा ‘बलात्कारीलाई फाँसी दे’, ‘कानुन मन्त्री चाहिन्छ’, ‘हाम्रो छोरी, हाम्रो शान’लगायतका नारा लगाइएको थियो ।

प्रदर्शनमा सहभागी अञ्जु सुवेदीले बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउन आफू प्रदर्शनमा सहभागी भएको बताइन् ।

उनले भनिन्, ‘हामीले आफ्नै छोरी–नातिनीमाथि यस्तो घटना भएको भए के गथ्र्यौं भन्ने सोचेर म यहाँ आएकी हुँ । हामीले आवाज उठाउनुपर्छ । अबको सरकारले बलात्कारजस्तो अपराध गर्ने सोच नै नआउने गरी कडा नीति बनाउनुपर्छ । गरिमा चौधरीले न्याय पाउनुपर्छ । आगामी दिनमा छोरीचेली सुरक्षित होऊन् भन्ने चाहना हो ।’

त्यस्तै, प्रदर्शनमा सहभागी अमृता गिरीले यस्ता घटना दोहोरिन नदिन आफूहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताइन् ।

उनले भनिन्, ‘यस्ता घटना नहोस् भनेर यहाँबाट शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका छौं । अहिलेको सरकारले महिला तथा छोरीचेलीले स्वतन्त्र र सुरक्षित रूपमा बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्छ ।’

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update