काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले आफूविरुद्ध सामाजिक सञ्जालमा लगाइएका आरोपप्रति आपत्ति जनाउँदै प्रमाणबिना कसैको चरित्रहत्या नगर्न आग्रह गरेकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद रानाले विधेयकमा ‘वेश्यावृत्ति’ र ‘वेश्यागमन’ जस्ता शब्द प्रयोग गरिएको भन्दै पुनरावलोकन गर्न माग गरिन्।
मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनले महिलामात्र नभई पुरुष, युवा तथा बालबालिकालाई समेत संरक्षणको दायरामा ल्याउनुपर्ने बताइन्।
सांसद रानाले आफूले संसद्मा नियमापत्ति जनाएका विषयलाई लिएर सामाजिक सञ्जालमा आफ्नै समुदायका महिला तथा साथीहरूले समेत आफूलाई ‘वेश्या’ र ‘चाइल्ड ट्राफिकर’ जस्ता आरोप लगाएको भन्दै दुःख व्यक्त गरिन्।
उनले आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै प्रमाणबिना कसैलाई झुटा आरोप लगाउन नहुने बताइन्।
सामाजिक सञ्जालमार्फत नेपाली महिलामाथि विभिन्न प्रकारका आरोप लगाउने प्रवृत्ति बढेको भन्दै उनले राज्य र संसद् यस विषयमा गम्भीर बन्नुपर्ने माग गरिन्। महिलामाथि हुने यस्ता आरोपले गहिरो मानसिक पीडा दिने उनको भनाइ थियो।

