काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गत निर्वाचनमा नेपाल प्रहरीले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन् ।
बुधबार बसेको संघीय संसद्को सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि नै प्रश्न उठिसकेको अवस्थामा उनलाई पदमै राखेर निष्पक्ष छानबिन हुन नसक्ने दाबी गरे ।
उनले तत्काल छानबिन समिति गठन गरी आरोपित व्यक्तिहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्ने माग गरे । तत्कालीन गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने,‘तत्काल छानबिन समिति गठन हुनुपर्यो । त्यो समिति बन्दै गर्दा आरोपित मानिसहरूलाई त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन । जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ । तत्कालीन गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई तत्काल जिम्मेवारीबाट बर्खास्त गरेर बाहिर ल्याएर कठघरामा राखेर यो विषयमा छानबिन गर्नुपर्छ ।’
सुनारले प्रहरीको बर्दीमै बसेर आफूमाथि लागेको आरोपको छानबिन गर्न नमिल्ने भन्दै फौजदारी अभियोगअन्तर्गत अनुसन्धान गर्नुपर्ने माग गरे ।
‘बर्दी लाएर छानबिन हुँदैन । बर्दी लाएर बसेर “ल, मलाई छानबिन गर” भन्न पाइँदैन । जसरी अरूमाथि प्रहरीले छानबिन गर्छ, त्यसरी नै यो मुद्दामा पनि गर्नुपर्छ । फौजदारी अभियोगमा छानबिन हुनुपर्छ,’उनले भने ।
उनले निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितताप्रति गम्भीर प्रश्न उठाउँदै दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि कारबाही हुनुपर्ने बताए ।

