झापा - आफूलाई ‘९ हजार रुपैयाँ चोरेको’ भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा बदनाम गरिएको आरोप लगाउँदै कलाबार अशोक दर्जीले इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा कारबाहीको माग गर्दै निवेदन दिएका छन्।
दमक नगरपालिका–९ का दर्जीले दिएको निवेदनअनुसार करिब एक महिनाअघि भक्ता मन्दिर–माता मन्दिर क्षेत्रनजिक आफन्त भेट्न गएका बेला साथीहरूसँग खाजा खाइरहेका समयमा एक परिचित व्यक्तिले ९ हजार रुपैयाँ लिएर गएको दाबी गरिएको छ।
निवेदनमा त्यसको करिब एक सातापछि देवीबस्ती क्षेत्रमा स्कुटीमा पेट्रोल हाल्दै गरेका बेला केही व्यक्तिले आफूलाई ९ हजार रुपैयाँ चोरी गरेको आरोप लगाउँदै भिड जम्मा गरी भिडियो बनाएको उल्लेख छ।
पीडितका अनुसार उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि आफ्नो व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा गम्भीर असर परेको छ। भिडियो हटाइदिन पटक–पटक आग्रह गर्दा उल्टै धम्की दिएको पनि निवेदनमा उल्लेख गरिएको छ।
पीडितले भिडियो बनाउने तथा सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न इलाका प्रहरी कार्यालय अनारमनीसँग माग गरेका छन्।
यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ।

