Harsamaya
मोरङको सुनवर्षीमा ४ वर्षीया बालिकाको शव फेला
सांकेतिक तस्वीर: हर समय/Har Samaya

मोरङ - सुनवर्षी - ९ डाइनियाँस्थित मुस्लिम टोलमा जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुन मृत अवस्थामा फेला परेकी छन् । 

शुक्रबार दिउँसो करिब ४ बजेबाट हराएकी बालिकाको शव साँझ घरदेखि करिब २०० मिटर पूर्वतर्फ रहेको घाँसीबारीमा फेला परेको थियो । 

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित गर्दै मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा आवश्यक अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीका अनुसार बालिकाको निधार र कन्चटमा गहिरो चोट देखिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कार भएको संकेत नदेखिएको प्रहरीले जनाएको छ। साथै, पुरानो रिसइबीका कारण हत्या भएको हुन सक्ने आशंकासहित विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको र खोजी तथा अनुसन्धान तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटवालले जानकारी दिएका छन्।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update