Harsamaya
उपचार खर्चले मात्र पुग्दैन, गणेश नेपाली किन आत्मदाहसम्म पुगे खोजिनुपर्छ - रञ्जु दर्शना 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शना ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले गणेश नेपालीको आत्मदाह प्रयासको उपचार खर्च व्यहोर्नु मात्रै पर्याप्त नहुने भन्दै त्यसको वास्तविक कारण खोज्न सरकारसँग माग गरेकी छिन् । 

सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी व्यवस्थापनका क्रममा दुध चुसाइरहेका आमा, सुत्केरी तथा वृद्धवृद्धाप्रति सरकारले संवेदनशीलता नदेखाएको उल्लेख गर्दै यस विषयमा आफूले संसद् र सम्बन्धित निकायमा पटक–पटक आवाज उठाएको बताएकी छिन् । 

गणेश नेपालीको घटनालाई उल्लेख गर्दै उनले भनिन्, ‘उपचार खर्च व्यहोर्नेमा मात्र सीमित नरही उनी आत्मदाहको बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यहीबाट सरकारले सिक्नुपर्छ ।’ 

दर्शनाले दैनिक ‘मैले सकिन, मरौं कि क्या हो’ भन्ने अवस्थाबाट गुज्रिरहेका लाखौँ युवाका लागि जीवन सहज बनाउने नीति आवश्यक रहेको उल्लेख गर्दै यस्तो अवस्था केवल कमजोर मनोबलका कारण नभई सामाजिक–आर्थिक समस्याको परिणाम पनि हुने बताएकी छिन् । 

उनले १०० दिनमै आमूल परिवर्तन सम्भव नभए पनि श्रमजीवी र गरिब नागरिकको पीडा कम गर्ने काम तत्काल गर्न सकिने उल्लेख गर्दै सरकारले त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने धारणा व्यक्त गरेकी छिन् । 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update