काठमाडौं - राष्ट्रियसभा सदस्य रञ्जित कर्णले आत्महत्या र आत्मदाहजस्ता घटनाले सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको भन्दै सरकारसँग तत्काल जवाफ माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी आत्महत्या गर्न बाध्य हुने र गरिब नागरिकले पेट्रोल छर्किएर ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै सरकारले अझै पनि मौन बसिरहेको आरोप लगाएका छन् ।
कर्णले विगत ३५ वर्षको राजनीतिक अवस्थालाई कारण देखाएर जिम्मेवारीबाट उम्किन नहुने भन्दै सरकार जनताप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । उनले जनताले न्याय कहिले पाउने भन्ने प्रश्न गर्दै शासनको मुख्य दायित्व नागरिकलाई न्याय दिलाउनु रहेको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा समवेदना व्यक्त गर्नेभन्दा जिम्मेवार शासन, प्रभावकारी नीति र न्यायपूर्ण कार्यान्वयनमार्फत मात्रै जनताको पीडा कम गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

