Harsamaya
राहदानी विभागको स्पष्टोक्ति:  ‘आत्मदाह प्रयास गर्ने व्यक्ति राहदानी सेवा लिन आएका थिएनन्’

काठमाडौं - राहदानी विभागले त्रिपुरेश्वरमा एक व्यक्तिले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन विभागमा आएको प्रारम्भिक प्रमाण नभेटिएको स्पष्ट पारेको छ।

बिहीबार जारी प्रेस विज्ञप्तिमा विभागले असार २५ गते दिउँसो करिब १:३८ बजे काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरमा उक्त घटना भएको उल्लेख गर्दै विभागको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी तथा सम्बन्धित निकायबाट प्राप्त प्रारम्भिक जानकारीका आधारमा घाइते व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन आएको नदेखिएको जनाएको हो।

विभागका अनुसार घाइते व्यक्तिलाई प्रहरीको सहयोगमा तत्काल उपचारका लागि अस्पताल लगिएको छ र हाल उहाँको उपचार भइरहेको छ।

राहदानी विभागले घटनाको थप विवरण सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको जनाउँदै घाइते व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

यसअघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि उक्त घटनालाई ट्राफिक जरिवानासँग जोडेर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्री तथ्यहीन र भ्रामक रहेको भन्दै खण्डन गरिसकेको छ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update