काठमाडौं - सांसद ज्ञानेन्द्र शाहीले सरकार परिवर्तनले जनताको जीवनमा कुनै सकारात्मक परिवर्तन ल्याउन नसकेको भन्दै सरकारमाथि कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य र राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको घटनालाई उल्लेख गर्दै दुवैको पीडा एउटै रहेको बताएका छन् ।
उनले मेहनत गरेर स्वदेशमै सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनाउन सरकार असफल भएको आरोप लगाएका छन् ।
शाहीले राजनीतिक परिवर्तन र कुर्सी परिवर्तनभन्दा जनताको जीवन परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै गरिब, दुःखी र श्रमजीवी नागरिकको पक्षमा ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
सुशासनको वास्तविक मापन नै राज्यले कमजोर र विपन्न नागरिकका पक्षमा गर्ने कामबाट हुने उनको भनाइ छ।

