Harsamaya
महानगरको ह्वील लकपछि पठाओ चालकले लगाए शरीरमा आगो, आईसीयूमा उपचार हुँदै
वीर अस्पतालमा उपचाररत गणेश नेपाली ।

काठमाडौं - काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो एक पठाओ चालकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। गम्भीर घाइते भएका उनको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्। उनी बा.प्र.०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकल प्रयोग गरेर पठाओ राइडरका रूपमा जीविकोपार्जन गर्दै आएका थिए।

घटना बिहीबार दिउँसो करिब १:४५ बजे काठमाडौं महानगरपालिका–११ स्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार नेपालीले पार्किङ गरेर राखेको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक लगाएपछि विवाद सुरु भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार गणेशले ह्वील लक खोलिदिन आग्रह गरेका थिए। तर महानगरका कर्मचारीले जरिवाना नतिरी ह्वील लक नखोल्ने अडान लिएपछि दुवै पक्षबीच भनाभन भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार त्यसपछि गणेशले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याए र आगो लगाएका थिए। प्रहरीले घटनाको प्रारम्भिक कारण ह्वील लकपछि भएको विवाद नै रहेको जनाएको छ।

आगो लागेको खबर पाएलगत्तै प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरी हवल्दार विकाश बुढाथोकीले उनलाई तत्काल बा.२ ज १५८० नम्बरको ट्याक्सीमा राखेर वीर अस्पताल पुर्‍याएका थिए।

प्रहरीका अनुसार आगलागीबाट गणेशको पेटदेखि माथिल्लो भागसम्म शरीर जलेको छ। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

प्रहरी अनुसन्धानमा परिवारका सदस्यले दिएको जानकारीअनुसार गणेश बिहीबार बिहान ५ बजे बालाजुस्थित दाइको डेराबाट राइड गर्न निस्केका थिए। उनी श्रीमती र छोरासहित भक्तपुरमा बस्दै आए पनि अघिल्लो रात दाइको डेरामा बसेका थिए।

घटनास्थलबाट अस्पताल लैजाँदै गर्दा गणेशले "महानगर प्रहरीले गर्दा यस्तो भयो" भनेको प्रहरी स्रोतले जनाएको छ। यद्यपि, यो भनाइ घटनाको प्रारम्भिक विवरणका रूपमा रहेको र घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले स्पष्ट पारेको छ।

यस घटनापछि सार्वजनिक स्थानमा पार्किङ व्यवस्थापन, ह्वील लकको प्रयोग तथा त्यसक्रममा सेवाग्राहीसँग गरिने व्यवहारबारे पनि प्रश्न उठ्न थालेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update