Harsamaya

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय र प्रतिशोधपूर्ण व्यवहार भएको दाबी गर्दै आफूले उनको सपना साकार पार्न नेतृत्वमा उम्मेदवारी दिएको बताएका छन्।

बुधबार रास्वपाको महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले न्यायाधीश बन्ने आफ्नो चाहना रहे पनि समय, परिस्थिति र नियतिले राजनीतिमा ल्याएको बताए। उनले अब पुराना दलहरूले गरेका कमजोरी सच्याउँदै देशको भविष्य परिवर्तन गर्ने जिम्मेवारी रास्वपामाथि आएको उल्लेख गरे।

‘जतिखेर राज्यले पार्टी सभापति रवि लामिछानेज्यूमाथि अन्याय गर्यो, ज्यादती गर्यो, दमन गर्यो, प्रतिशोध साध्यो, त्यसबेला म इजलासदेखि मिडियासम्म अन्याय भयो भन्दै आवाज उठाइरहेको थिएँ,’ उनले भने, ‘मेरो इच्छा नेपालको जुडिसियरीमा न्यायाधीश भएर सेवा गर्ने थियो। तर समय, काल, परिस्थिति र नियतिले मलाई राजनीतितर्फ डोर्यायो र प्रतिनिधिसभाको सांसद बनायो।’

उनले सरकारलाई पार्टीको नीति र सिद्धान्तअनुसार सञ्चालन गराउन तथा नीति निर्माण प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्नो उम्मेदवारी रहेको बताए। कानुनको विद्यार्थी र सांसदको अनुभवले पार्टीलाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।

न्यौपानेले रवि लामिछानेको सपना समृद्ध नेपाल निर्माण गर्नु रहेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सामूहिक नेतृत्व आवश्यक पर्ने बताए। ‘रवि लामिछानेज्यूको सपना यो देशलाई समृद्ध बनाउने, नेपालीलाई गरिब राष्ट्रको परिचयबाट विकसित मुलुकको नागरिक बनाउने हो,’ उनले भने, ‘एक व्यक्तिले मात्रै त्यो सम्भव हुँदैन। विचार र सिद्धान्तलाई संस्थागत गर्न विभिन्न तह र पदमा सक्षम व्यक्तिहरू आवश्यक पर्छन्।’

उनले रास्वपाको मूल आधार, विचार र ऊर्जा नै रवि लामिछाने रहेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध राख्न पनि आफ्नो उम्मेदवारी रहेको बताए। ‘यसको चुरो कुरा, यसको डीएनए, यसको जग रवि लामिछाने हो। त्यो जग हल्लिन नदिन र पार्टीलाई एक ढिक्का बनाएर राख्न मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने।

महाधिवेशनमा निर्वाचन प्रतिस्पर्धात्मक भए पनि गुट–उपगुटको राजनीतिबाट टाढा रहन उनले आग्रह गरे। योग्य, सक्षम र इमान्दार नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै उनले मतदानलाई देशको भविष्यसँग जोडेर व्याख्या गरे।

‘हाम्रो उखान छ, मतदान र कन्यादान गलत ठाउँमा गर्नु हुँदैन। कन्या गलत ठाउँमा दान गरियो भने छोरीले दुःख पाउँछिन्, मतदान गलत ठाउँमा भयो भने देशले दुःख पाउँछ,’ उनले भने, ‘त्यसैले योग्य, सक्षम र देशको भाग्य परिवर्तन गर्न सक्ने व्यक्तिलाई मत दिनुपर्छ।’

महाधिवेशन लम्बिँदा गाउँ–गाउँबाट आएका प्रतिनिधिहरूलाई आर्थिक र व्यवस्थापकीय कठिनाइ भएको स्वीकार गर्दै उनले प्रक्रिया छिटो टुंग्याउन निर्वाचन टोलीलाई निरन्तर दबाब दिइरहेको बताए।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update