काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन गरिएको छ ।
आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १०७, राइड सेयरिङमा १९२, रातोबत्तीमा १८३, तीव्र गतिमा १२६, लेनक्रसमा ४१, सडक फुटपाथमा ७५, हर्न निषेधमा १४९, एकतर्फीमा ७७ र अन्यमा ८९१ गरी कुल एक हजार ८४१ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

