
काठमाडौं - आज डिसेम्बर १८, अन्तर्राष्ट्रिय आप्रवासी दिवस, संसारभर आप्रवासी श्रमिकको योगदानलाई मान्यता दिन र आप्रवासनका चुनौतीबारे चेतना जगाउन मनाइँदैछ। नेपालमा “सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार” भन्ने नाराका साथ सरकारी र गैरसरकारी क्षेत्रले सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन्।
विश्व आप्रवासन प्रतिवेदन २०२४ अनुसार, हाल २८ करोडभन्दा बढी आप्रवासीमध्ये १७ करोडजति श्रमिक छन्। नेपालमा वैदेशिक रोजगारीले अर्थतन्त्रलाई गतिशील बनाउँदै विप्रेषणमार्फत १४ खर्ब ४५ अर्ब रुपैयाँ योगदान गरेको छ, जसले कुल गार्हस्थ उत्पादनमा एक चौथाइभन्दा बढी हिस्सा ओगटेको छ।
सरकारले सुरक्षित र मर्यादित आप्रवासनका लागि श्रम कानुनको पुनरवलोकन, सीपसहितको रोजगारीको सुनिश्चितता, श्रमिकका अधिकार संरक्षण र स्वदेश फर्किएका श्रमिकको पुनःस्थापनामा प्राथमिकता दिएको छ। गन्तव्य देशहरूसँग सहकार्य गर्दै श्रमिकको हकहित सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता छ।