काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले नीति निर्माणलाई गम्भीर रूपमा अघि बढाइरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘राष्ट्रिय स्वतन्त्र पार्टी नीति मन्थन : विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन’ कार्यक्रममा बोल्दै सभापति लामिछानेले पार्टी स्थापना भएदेखि नै विभिन्न नीति तथा विचारका विषयमा विज्ञहरूसँग निरन्तर छलफल र मन्थन गर्दै आएको उल्लेख गरे ।
उनले नीति मन्थनका क्रममा उठाइएका विषयहरू केवल मिडिया सामग्री वा कार्यक्रममा सीमित नहुने भन्दै ती विषय नीतिका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘रास्वपाले आफ्नो स्थापना सँगसँगै विभिन्न नीति विचारहरुमा विज्ञहरुसँग मन्थन गर्दै आफूलाई परिस्कृत र परिमार्जित गर्दै जाने क्रमलाई सुरुवात गरिसकेको छ । तर नीति मन्थन र छलफल गरिएका विषयहरु खाली मिडिया कन्टेन मात्र नबनुन् । सहभागिताहरुको कानमा मात्र त्यो कुरा नपुगोस् । त्यसले नीतिका रुपमा रुपान्तरित हुने अवसर पाओस् । नीतिका रुपमा त्यो छलफलका विषयहरु अगाडि बढेस र जसले गर्दा सम्बन्धित क्षेत्रले लाभ हासिल गर्न सकोस् । त्यस उदेश्यले हामीले नीति मन्थनलाई अत्यन्त गम्भिरताका साथ अगाडि बढाउँदै आएका छौं ।’
उनले छलफलबाट आएका सुझावहरू पार्टीको नीति हुँदै मुलुककै नीति बन्न सके सम्बन्धित क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्ने बताए ।
उनले भने, ‘समय र आवश्यकता अनुसार विषयहरु फरक हुन्छन् । तर नीति मन्थनमार्फत गरिएका छलफलहरु साच्चै नै पार्टीको नीति हुँदै मुलुकको नीति बन्न सकोस् र सम्बन्धित क्षेत्रले त्यसबाट लाभ लिन सक्नुपर्छ । यहाँ अभिव्यक्त भएका विचारहरुले सार्थकता पाओस् ।’
सभापति लामिछानेले समय र आवश्यकताअनुसार नीति तथा बहसका विषय परिवर्तन हुने उल्लेख गर्दै नीति मन्थनमार्फत व्यक्त भएका विचारहरूले सार्थकता पाउनुपर्ने धारणा राखे । उनले यस्ता छलफललाई रास्वपाले अत्यन्त गम्भीरताका साथ अगाडि बढाइरहेको पनि बताए ।

