काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित धनीले फिर्ता पाएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रममा खोजतलासपछि फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार ट्राफिक प्रहरीले विशेष खोज अभियान सञ्चालन गरी विभिन्न स्थानबाट सवारी साधन फेला पारेको हो । उनले सवारी साधनमा अतिरिक्त लकिङ सिस्टम प्रयोग गर्नसके चोरीका घटनामा कमी आउन सक्ने बताए ।
उनले भने,‘बैशाख महिनामा ६५ वटा हराएका मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता गरेका छौं । कतिपय सवारी साधन खोजेर ल्यायौं । सवारी साधनमा थप सुरक्षा प्रणाली अपनाए चोरी न्यूनीकरण गर्न सकिन्छ ।’
ट्राफिक प्रहरीले सवारी साधन हराएमा तत्काल प्रहरीमा जानकारी दिन तथा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

