काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहसँग बागमती प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूले सोमबार छलफल गरेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ बाट निर्वाचित सांसद युवराज दुलालले प्रधानमन्त्रीसमक्ष सीमाना सुरक्षा, गुठी समस्या समाधानदेखि पूर्वाधार र स्वास्थ्य सेवासम्मका ८ वटा प्राथमिक एजेन्डा पेश गरेको हुन्।
छलफलमा सीमा नियन्त्रण सम्बन्धी विधेयक तत्काल ल्याउने, गुठी जग्गासँग जोडिएका किसानका समस्या समाधान गर्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, मेलम्ची र इन्द्रावती नदी किनारका उच्च जोखिमयुक्त बस्तीको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने विषय उठाएका छन्।
यसैगरी, मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको सामाजिक उत्थान कार्यक्रम लागू गर्न गठन आदेश स्वीकृत गर्न, हेलम्बु सडक निर्माणका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति गरी पुनः ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् ।
स्थानीय सप्लायर्सले पाउनुपर्ने भुक्तानी तत्काल दिनुपर्ने, मध्य पहाडी लोकमार्ग अन्तर्गत बन्देउ–बाहुनेपाटी सडक खण्ड यसै वर्ष कालोपत्रे सक्नुपर्ने तथा झ्याडी खोलामा पुल निर्माणको ठेक्का प्रक्रिया अगाडि बढाउनुपर्ने विषय पनि उठाएका छन् ।

