Harsamaya
वाटरफ्रन्ट होटलमा डोजर चलेपछि कर्ण शाक्यले भने : कोठामा झिंगा आयो भनेर झ्याल बन्द गर्ने होइन, जाली लगाउने हो
पर्यटन व्यवसायी कर्ण शाक्य । ग्राफिक्स: हर समय/Har Samaya

पोखरा - फेवाताल किनारमा अवस्थित वाटर फ्रन्ट होटलको स्वमिङ पुल र पर्खाल पोखरा महानगरपालिकाले भत्काएपछि पर्यटन व्यवसायी कर्ण शाक्यले आफ्नो धारणा सार्वजनिक गर्दै नगरपालिकाको कदमप्रति असन्तुष्टि जनाएका छन्।

शाक्यका अनुसार करिब दुई दशकअघि माओवादी द्वन्द्वकालमा स्वदेशमै लगानी गर्ने निर्णय गर्दै उनले आफ्ना साझेदार दिवाकर राजकर्निकारसँग मिलेर फेवाताल नजिक ‘बुद्ध लज’सहितको १७ रोपनी जग्गा खरिद गरी अन्तर्राष्ट्रियस्तरको होटल निर्माण गरेको बताए । ‘यो केवल व्यवसाय होइन, हाम्रो विश्वास, संघर्ष र आस्थाको प्रतिक हो,’उनले उल्लेख गरेका छन्।

उनले कुनै पूर्वसूचना बिनानै बिहान सबेरै नगरपालिकाले होटलको पर्खाल भत्काएको दाबी गरेका छन्। पर्यटकीय सिजनका बेला होटल भरिभराउ अवस्थामा रहेको भन्दै पहिलो निशानामा आफ्नो होटल किन परेको भन्ने प्रश्न उठाएका छन्।

शाक्यले होटलले सबै कानुनी प्रक्रिया पूरा गरेको दाबी गरेका छन्। ‘हाम्रो जग्गाको लालपुर्जा छ, नक्सा पास छ, पर्यटन विभागको लाइसेन्स छ, उद्योग विभागको प्रमाणपत्र छ, राष्ट्र बैंकको इजाजतपत्र छ, हरेक वर्ष कर तिरेका छौँ,’ उनले भने। साथै, होटल भवन ६५ मिटर मापदण्डभित्र नपर्ने र बीचमा अन्य निजी जग्गा रहेको समेत स्पष्ट पारेका छन्।

उनले फेवाताल क्षेत्रका हजारौँ संरचनामध्ये आफ्नो होटलमात्रै लक्षित गरिएको भन्दै प्रश्न उठाएका छन्। उचित मुआब्जा र पूर्वसूचना बिना संरचना भत्काउनु न्यायोचित नभएको उनको भनाइ छ।

शाक्यले फेवातालको ऐतिहासिक विकासक्रम स्मरण गराउँदै संरक्षण र विकासबीच सन्तुलन आवश्यक रहेको बताएका छन्। ‘संरक्षणले विकासलाई रोक्ने होइन, टेवा दिनुपर्छ,’उनले भने, ‘कोठामा झिंगा आयो भनेर झ्याल बन्द गर्ने होइन, जाली लगाउने हो।’

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update