Harsamaya
निषेधित क्षेत्रमा पदयात्रा अनुमतिबारे अध्यागमनको नयाँ व्यवस्था
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई थप सहज र छरितो बनाएको जनाएको छ। विभागले सूचना जारी गर्दै विदेशी नागरिकले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था यथावत रहेको स्पष्ट पारेको छ।

विभागका अनुसार अब एजेन्सीमार्फत समूहगत रूपमा जाने विदेशी पदयात्रीका लागि अनुमति जारी गर्ने सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराइनेछ, जसले प्रक्रिया झन्झटरहित र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।

यसअघि एकल पदयात्रीलाई अनुमति नदिने व्यवस्थाका कारण समस्या भएको भन्दै पर्यटन क्षेत्रबाट गुनासो आएपछि अब एक पदयात्रीलाई समेत अनुमति दिने निर्णय गरिएको विभागका प्रवक्ता टीकाराम ढकाल ले जानकारी दिनुभयो।

तर पदयात्राका लागि एजेन्सीमार्फत आवेदन दिनुपर्ने, ट्रेकिङ गाइड अनिवार्य रूपमा राख्नुपर्ने र आपत्कालीन अवस्थामा उद्धारको जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनुपर्ने व्यवस्था कायम रहनेछ। साथै एक ट्रेकिङ गाइडसँग बढीमा सात पदयात्री रहने गरी अनुमति प्रदान गरिने विभागले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update