Harsamaya
रवीन्द्र मिश्रले दलीय राजनीतिबाट बिदा लिए,  राप्रपाका सबै पदबाट राजीनामा
रवीन्द्र मिश्र ।

काठमाडौं - रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा गरेका छन्।

प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले आजैदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका छन्।

उनले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत रहेको भए पनि उक्त जनमतलाई संगठित र पूँजीकृत गर्न पार्टी बारम्बार असफल भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी आफूले पनि लिने बताएका छन्।

मिश्रले राजसंस्था पुनर्स्थापना, सुशासनलगायतका विषयमा आफ्ना अडान यथावत् रहने स्पष्ट पार्दै अब केही समयका लागि गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार सार्वजनिक गर्दै जाने बताएका छन्।

पछिल्लो ९ वर्षको राजनीतिक यात्रामा आफूले इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै उनले देशभन्दा माथि व्यक्तिगत स्वार्थ राखेर कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस अवधिमा साथ र सहयोग गर्ने देशविदेशमा रहेका नेपाली तथा पार्टीका नेता–कार्यकर्ताप्रति उनले आभार व्यक्त गरेका छन्।

मिश्रले पछिल्लो निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी लाई बधाई तथा शुभकामना पनि दिएका छन्। साथै नेपाली राजनीति चरम ध्रुवीकरणतर्फ नजाओस् भन्ने कामना गरेका छन्।

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति: दलीय राजनीतिबाट तत्कालका लागि विदा

मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचि-विचारी लिँदैछु।

देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु।

विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु। सो परिप्रेक्ष्यमा मैले निम्न दुई निर्णय लिएको छु:

१) आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु।

२) राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु।

गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन।

तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन।

यी यावत वर्षहरूमा यो कठिन यात्रामा साथ र सहयोग गर्नुहुने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरूप्रति जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुन्छ।

निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई वधाई तथा शुभकामना दिन चाहन्छु। 'प्रचण्डपथ'मा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् -- त्यत्ति कामना गर्दछु।

तपाईंहरू सबैको जय होस्, पृथ्वीपथको जय होस्, नेपालको जय होस्! धेरै-धेरै धन्यवाद!

स–स्नेह
रवीन्द्र मिश्र
मिति: २३ फागुन २०८२

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update