काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गुरराज घिमिरेले समर्पण, निष्ठा र योगदानको मूल्य समाजमा अपेक्षाअनुसार कायम हुन नसकेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै घिमिरेले हल्ला र प्रचारको बीचमा वास्तविक मूल्य–मान्यताहरू ओझेलमा परेको बताएका छन्। उनले देशको अवस्थालाई कवि भूपी शेरचनको कवितासँग तुलना गर्दै समाजमा देखिने र वास्तविकताबीच ठूलो अन्तर रहेको उल्लेख गरेका छन्।
घिमिरेले एउटै परिवार र समान मूल्य बोकेको समाजमा पनि चरित्र र व्यवहारमा फरक देखिन थालेको टिप्पणी गरेका छन्। उनका अनुसार मानवीय स्वरूप भए पनि व्यवहार भने कहिलेकाहीँ पशुवत देखिने अवस्था समाजमा बढ्दो छ।
उनले समाज पारदर्शी भएकाले मानिसका क्रियाकलाप देखिने र भोगिने मात्र होइन, अन्ततः सबै कुरा स्पष्ट हुने पनि बताएका छन्। “जसले जे सक्यो त्यही गर्ने अवस्था देखिएको छ,” उनले उल्लेख गरेका छन्।
अन्त्यमा उनले जीवनलाई विभिन्न चौराहा र चौतारीमा भेटिने यात्रासँग तुलना गर्दै मानिसहरूले अन्ततः आ–आफ्नो हिसाबकिताब गरेर आ–आफ्नो बाटो हिँड्ने अवस्था आउने संकेत गरेका छन्। उनले जीवनमा हाँस्ने र रुने अवसर त हुने भए पनि पछुतोको अर्थ भने नरहने टिप्पणी गरेका छन्।

