काठमाडौं - हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभरि शान्तिपूर्ण र हिंसारहित भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन् ।
गृहमन्त्री अर्यालले निर्वाचन हुन नसकेको भए देश, संविधान र मानवता नै जोखिममा पर्नसक्ने अवस्था आउन सक्ने बताएका छन् । उनले सरकारको लक्ष्य निष्पक्ष र सुदृढ चुनाव गराउनु रहेको उल्लेख गर्दै यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा गुणस्तरीय भएको दाबी गरे ।
उनले भने, ‘यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने प्रत्याभूति दिएको छ । यदि यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो । अब हामीले निष्पक्ष निर्वाचन सम्पन्न गर्यौं । यसपालि गुणस्तरीय र सुदृढ चुनाव भएको छ ।’
निर्वाचनको क्रममा हिंसात्मक झडप हुन सक्ने स्थानमा समयमै सुरक्षा व्यवस्था कडा बनाइ नियन्त्रण गरिएको पनि उनले जानकारी दिए । ‘एक–दुई ठाउँबाहेक ठूलो हिंसात्मक घटना भएन, हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर नियन्त्रणमा राख्यौं,’ उनले भने ।
यसअघि धेरै ठाउँमा मतदान स्थगित हुने र पुनः मतदान गराउनुपर्ने अवस्था आउने गरेको उल्लेख गर्दै उनले यसपटक भने देशभर एकैचोटि मतदान सम्पन्न भएको र कतै पनि स्थगन गर्नुपर्ने अवस्था नआएको बताए ।
गृहमन्त्री अर्यालले यस्तो अभ्यासबाट राजनीतिक सुशासनका मानकहरू अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले भविष्यमा आउने सरकारले पनि यी मानकहरू कायम राख्ने अपेक्षा गरिएको बताए ।
अर्यालले थपे, ‘सबैलाई थाहा छ, यसपालि एक थोपा रगत पनि खस्न सकेन । हाम्रो सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपा खसिएको छैन । निर्वाचनको क्रममा पनि हिंसात्मक झडपहरू लगभग नभएका हुन्, र जहाँ हुन खोजेका थिए, त्यसलाई रोक्दै नियन्त्रणमा राखियो । यसरी देशभरि एकैचोटि मतदान सम्पन्न भयो र स्थगनको अवस्था छैन ।’

