Harsamaya
शेर्पा समुदायमा राजनीतिक रिक्तता देखियो : गेल्जे शेर्पा
शेर्पा सञ्चार समूह नेपालको शुभकामना आदान–प्रदान कार्यक्रम ।

काठमाडौं - नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले पछिल्लो समय शेर्पा समुदायमा राजनीतिक रिक्तता देखिएको बताएका छन्। शेर्पा सञ्चार समूह नेपालले ग्याल्पो लोसारको अवसरमा शनिबार काठमाडौंको जोरपाटीस्थित शेर्पा सेवा केन्द्रमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो बताएका हुन्।

शेर्पाले आसन्न निर्वाचनमा शीर्ष दलले शेर्पा उम्मेदवारलाई प्राथमिकतामा राखेको नपाइएको बताए। 'पोलिटिकल ग्याप देखियो। ८२ को निर्वाचनमा आशलाग्दो उम्मेद्वार देखिएन,' शेर्पाले भने। उनले शेर्पा पत्रकारितामा पनि यस्तो रिक्तता नहोस् भन्दै शुभकामना व्यक्त गरे।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले मुलधारका मिडिया जनजातिमैत्री नभएको बताए। आफूले लामो समय पत्रकारिता गरेको अनुभव सुनाउँदै अध्यक्ष थापाले पछिल्लो समय भाषाभाषीलाई स्थान दिए पनि ती जनजातिको मुद्दा स्थापनाका लागि पर्याप्त नभएको बताए।

कार्यक्रममा 'शेर्पा समुदायको धर्म, भाषा, कला, संस्कृतिको संरक्षण र अधिकार पहिचानका लागि मिडियाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो। अन्तरक्रियामा पत्रकार छेटु शेर्पा, आचार्य पासाङ नुर्बु शेर्पा, पूर्व सभासद् आाङदावा शेर्पालगायतले धारणा राखेका थिए।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा, नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्बु थेन्डु शेर्पा, ग्लोबल शेर्पा संघका उपाध्यक्ष आङ गेल्मु शेर्पा, श्री बौद्धनाथ क्षेत्रनाथ विकास समितिका सदस्य रबगा शेर्पा, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, वरिष्ठ पत्रकार कुमार यात्रु तामाङलगायतले धारणा राखेका थिए। शेर्पा सञ्चार समूहकी अध्यक्ष डोल्मा शेर्पाले सञ्चार क्षेत्रमा शेर्पा समुदायको उपस्थिति कमजोर रहेको बताइन्। यस क्षेत्रमा समुदायको आकर्षण र दक्षता बढाउन समूहले पत्रकारिता तालिमदेखि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाई थियो। शेर्पा समुदायले फागुन ६ गते ग्याल्पो लोसार मनाउँदैछन्।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update