Harsamaya

काठमाडौं - नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बाँनिया(कृष्ण)ले काठमाडौंको भुगोल, जातिय क्लष्टर र मतदाताको भावना नजिकबाट बुझेको उम्मेदवार भएकाले मतदाताले विश्वास जित्ने बताएका छन् ।

हर समयसँगको विशेष चुनावी संवादमा उनले चुनावी अभियानका क्रममा हाल शुभेच्छुक, मतदाता र कार्यकर्ताहरुसँगको भेटले उत्साह थपेको बताउँदै विजयी हुनेमा विश्वास व्यक्त गरे ।

‘हाल मतदाताहरुसँग भेट्ने काम गरिरहेका छौं । क्लस्टर क्लस्टरमा गएर भेट्ने, सुझाव लिने र प्रश्नहरुको उत्तर दिने साथै सहकार्य गर्दै अगाडि बढ्ने काम गरिरहेका छौं । यसक्रममा विशेषगरि राष्ट्रको समृद्धिको, सबै किसिमका जटिलता, त्यसको व्यवस्थापन गर्नेबारे गम्भीर वहस समेत गरेका छौं । कांग्रेसले नेतृत्व परिवर्तन गरेर गइसकेकाले सबैखाले चुनौतीको सामना गर्नेगरी काम गरिरहेका छौं,’ उनले भने ।

पार्टी सभापतिमा गगन कुमार थापा निर्वाचित भएकाले कांग्रेस बदलिएर र रुपान्तरित भएर अगाडि बढेको उल्लेख गर्दै उनले यतिबेला कांग्रेस सहज एवम विश्वासिलो पार्टी बनिसकेकाले मतदाताहरु आशावादी भएको उल्लेख गरे । 

काठमाडौं क्षेत्र नम्बर ६ मा क्षेत्रगत, मान्छेको व्यक्तिगतदेखि लिएर सामूहिक समस्याहरु रहेकाले त्यसको पहिचान गरेर काम गर्न आफू तत्पर रहेको विश्वास व्यक्त गरे । ‘मतदाताहरुले आफ्नो क्षेत्रका समस्याहरु राख्नु भएको छ । विशेषगरी विकास निर्माणहरुका समस्या छन् । आफ्ना आफ्ना किसिमका समस्यालाई नजिकबाट उहाँहरुले भोगिरहनु भएको छ । त्यसको समाधानका लागि अठोटका साथ मतदाताहरुलाई भनिरहेको छु । यस क्षेत्रका स्रोत साधन, खोलानाला र त्यसको व्यवस्थापन, प्राकृतिक सम्पदाहरु ऐतिहासिक पहिचानका सम्पत्तिहरुको संरक्षण संवर्धन, व्यवस्थित किसिमले अगाडि लैजानुपर्ने पनि छ । त्यसका लागि काम गर्न म तत्पर छु,’उनले भने ।

काठमाडौं ७७ जिल्लाका मतदाताहरुको बसोबास रहेको संघीय राजधानी भएकाले एक किसिमको राष्ट्रिय चिन्तन सबैले गरिरहेकाले त्यसकाबारे आफू सचेत रहेको बताए । आगामी निर्वाचन भदौ २३ र २४ गतेको आन्दोलनको उपज भएकाले संवेनशील भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

नेपाली कांग्रेस ऐतिहासिक पार्टी भएपनि राज्यसत्ता संचालन गर्ने क्रममा केही कमजोरीहरु भएको बताउँदै वाँनियाले त्यसबेलाको अपजस स्पष्ट रुपमा अंगीकार गरेर मैदानमा उत्रिएको बताए । ‘हामी राज्यसत्तामा रहेकै बेला जेनजी आन्दोलन भयो । जेनजीहरुको मागको आधारमा अगाडि बढ्नुपर्छ भन्नेमा म प्रतिवद्ध छु,’ उनले भने ।

काठमाडौंको सन्दर्भमा खोला किनारामा बसेका आम नागरिकहरुको समस्या र उनीहरुको अधिकारका बारेमा काम गर्नुपर्ने र त्यसलाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।

‘जोकोही नागरिकको बास र गास पहिलो प्राथमिकता हो । उहाँहरुको अवस्थाबारे म जानकार छु । सचेत छु र उहाँहरुको समस्या प्रत्यक्ष रुपमा देखेर भोगेको छु । उहाँहरुसँग एउटा पारिवारिक सम्बन्ध जस्तो कायम गरेर धेरै काम गरेकाले उहाँहरुको समस्या नजिकबाट हेरेर बुझेको छु । त्यसलाई व्यवस्थापन गर्नुपर्ने मेरो प्रमुख जिम्मेवारी हो । उहाँहरुकै सल्लाह अनुसार काम गर्न तयार छु,’ उनले प्रतिवद्धता जनाए ।

उम्मेदवार बाँनियाले आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक र पुरातात्वीक महत्व बोेकेका सम्पदा स्थलहरुको संरक्षण र नेवार समूदायहरुको गुठीको व्यवस्थापनमा काम गर्ने अठोट पनि व्यक्त गरे ।

‘गुठीको प्रबर्धन गरेन भने, संस्थागत रुपको त्यसलाई व्यवस्थित गर्दै लगेन भने सम्पदाको नष्ट हुन्छ । किनभने सम्पदाको संरक्षण गुठीले गरिराखेका छन् । गुठीको व्यवस्थापन गर्नु सम्पदालाई बचाउनु हो । त्यसकारण सम्पदाका विषयमा म बढी चिन्तित छु । गुठी र सम्पदाका सन्दर्भमा चेतनशील वा बुझ्नसक्ने अवस्थादेखि धेरै अनुभूति छ । सम्पदा हाम्रो सम्पदा भएकाले त्यसको व्यवस्थापन मेरो प्रमुख दायित्व हो,’ उनको भनाइ छ ।

नदीनालाहरुको व्यवस्थापन र सफाइ महत्वपूर्ण काम भएकाले पर्यावरण जोगाउन पनि यसमा काम गर्नुपर्नेमा उनी प्रतिबद्ध छन् । ‘खोलानाला दूषित हुँदा पर्यावरण विग्रिन्छ । मान्छेको स्वास्थ्यलाई हानि पुर्याउँछ । यसको व्यवस्थापनका लागि मतदाताहरुलाई भनेको पनि छु । निर्वाचित भएर गएपछि वा काठमाडौँ जिल्लाका प्रतिनिधित्व गर्ने सांसदहरुको एउटै स्वर बनाएर प्रस्ताव संसदमा पेश गर्नेछु । काठमाडौं सुन्दर बनाउनका लागि पहिला नदीनालाको व्यवस्थापन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ । काठमाडौंको गुठी र नदीनालाको व्यवस्थापन गरेर उचित संरक्षण गरेर यथोचित व्यवस्थापन गरेर जानुपर्ने छ । यसमा काम गर्ने मेरो पहिलो लक्ष्य हुनेछ । अरु विकास निर्माणका कुराहरु आवश्यकता अनुसार व्यवस्थापन गरेर लाने कुरामा स्पष्ट नै छु,’ उनले भने ।

लोकतन्त्र वा प्रजातन्त्र अर्थात गणतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको समावेशीमुलक प्रतिनिधित्व भएकाले निर्वाचनमा नयाँ वा पुराना सबैको दलहरुको प्रतिनिधित्व हुनुपर्नेमा उनले जोड दिए । ‘निर्वाचनमा नयाँ पुरानो भन्नेले खासै अर्थ राख्दैन । प्रतिस्पर्धा सबैबीच हुनुपर्छ । कुनै पार्टीले गरेको जवाफदेहीता र उसले गरेको क्रियाशीलताबाट प्रश्न उठ्नु स्वभाविक छ । मान्छेको आकांक्षा सिमित नहुने र समय सन्दर्भ अनुसार बढ्दै जाने भएकाले पुरानो इतिहास भएको पार्टीले आफूलाई रुपान्तरित गरेर जानुर्पछ । नयाँ भनिएका पार्टीहरुले पुरानालाई घेरावन्दी गर्नु जरुरी पनि छैन । आफुले गर्नुपर्ने दायित्वबाट पन्छिन पनि मिल्दैन,’ वानियाले स्पष्ट पारे ।

ऐतिहासिक पार्टीको प्रतिनिधिको रुपमा आफूले उम्मेदवारी दिन पाएको दाबी गर्दै बाँनियाले नयाँ पार्टीहरुले डेलिभरी गर्न सकेनन् भने प्रश्न उठ्ने उनले बताए । नयाँ भनिएका पार्टीहरु पनि परीक्षामा असफल भइसकेकाले पूरानाहरुप्रति मतदाताको विश्वास बढेको दाबी गरे । कांग्रेसभित्र कुनै किसिमको मत भिन्नता नरहेको उल्लेख गर्दै उनले सबै एकढिक्का भएर पार्टीलाई जिताउन क्रियाशील रहेको जानकारी दिए ।

‘यसअघि यो क्षेत्रबाट भीमसेन दास प्रधान उम्मेदवार हुनुहुन्थ्यो । उहाँ यतिबेला कांग्रेसलाई जिताउन लागिरहनु भएको छ । पार्टीमाथि प्रश्न उठेपनि मतदाताप्रति हामी जवाफदेही छौं । मैंले पटक पटक निर्वाचनमा उठ्छु भनेपछि मात्र अवसर पाएको हुँ । सामाजिक रुपमा आफुलाई रुपान्तरित गरेर अगाडि बढेको छु । पार्टीमा आन्तरिक रुपमा क्रियाशील भएर काम गर्दै जाँदा विकास निर्माणदेखि लिएर राज्य संचालनमा धेरै रचनात्मक काम समेत गर्ने मौका पाएको छु,’ उनले भने । 

अहिलेको परिस्थिति भनेको एउटा संकटग्रस्त अवस्थामा रहेकाले प्राप्त गरेका अधिकार पनि एउटा अफ्ठेरो असजिलो परिस्थितिलाई संस्थागत गरेर लानुपर्ने उनको भनाइ छ । हाल देखिएका समस्या वा चुनौतीहरुको समाधान गर्न, मुलुकको समृद्धको बाटो ढोका खोलेर अघि बढ्न कांग्रेस तयार रहेको उनको भनाइ छ ।

‘नेपाली कांग्रेस बदलियो, अब देश बदल्छौं भन्ने हाम्रो स्लोगन नै छ । देशको अहिलेको परिस्थिति वा माग अनुसार जानको लागि एउटा प्रतिनिधि पात्रका रुपमा मैदानमा आएको छु । पार्टी सभापति गगन थापा ज्यूले लिनुभएको बाटोमा अघि बढेको छु । म खेतीकिसानी गर्ने व्यक्ति भएकाले सबै तहका मतदाताहरुको भावना बुझेको छु । सबै जातजाति मेरा लागि बराबरी हुन् । सबै जातजातीका व्यक्तिसँग आत्मीय सम्बन्ध छ । पारिवारिक सम्बन्ध राखेर सामाजिक रुपमा आफूलाई प्रमाणित गरिसकेको छु । सबै मतदाताको आशीर्वाद र विश्वासका कारण काठमाडौं क्षेत्र नम्बर ६ का मतदाताले मलाई विश्वास गर्नुहुनेछ,’ उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update