Harsamaya
२५ वर्षमा २६ लाख पर्यटक पुगे अन्नपूर्ण क्षेत्र
अन्नपूर्ण बेस क्यम्प ।

गण्डकी -  विश्वप्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ देखि सन् २०२५ सम्म सो संख्यामा पर्यटक भित्रिएका हुन्।

एक्यापको तथ्याङ्कअनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक अन्नपूर्ण क्षेत्र पुगेका थिए भने सन् २०२५ मा हालसम्मकै उच्च दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन्। सबैभन्दा कम सन् २०२१ मा १६ हजार १०५ पर्यटक मात्रै आएका थिए, जुन कोभिड–१९ महामारीको प्रभावका कारण हो।

सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलोपटक वार्षिक पर्यटक संख्या एक लाख नाघेको थियो। सन् २०१५ को गोरखा भूकम्प र सन् २०२०–२१ को कोरोना महामारीका कारण पर्यटक आगमन घटे पनि सन् २०२२ पछि पुनः निरन्तर वृद्धि भएको देखिन्छ।

गत वर्ष आएका पर्यटकमध्ये एक लाख ७७ हजार ६२८ दक्षिण एसियाली मुलुकका र एक लाख २२ हजार २०३ अन्य मुलुकका रहेको एक्यापका प्रमुख डा. रबिन कडरियाले जानकारी दिए । सन् २०२५ मा पर्यटक आगमनले नयाँ रेकर्ड कायम गरेको उनले बताए । 

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, मुक्तिनाथ, उपल्लो मुस्ताङ र घोडेपानीलगायत गन्तव्य अन्नपूर्ण क्षेत्रका प्रमुख आकर्षण हुन्। प्राकृतिक सौन्दर्य, जैविक विविधता, संस्कृति र पर्यटनमैत्री पूर्वाधारका कारण अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटकको रोजाइमा पर्ने गरेको छ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update