Harsamaya
अण्डाको मूल्य घट्यो
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

चितवन - अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा उत्पादन बढ्नु र भारतबाट पनि अण्डा आयात हुनुका कारण मूल्यमा गिरावट आएको हो।

समर्थन मूल्यअनुसार अहिले ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा ४३५ र मिडियम ४०५ रहेको थियो। माघ ११ गते ठूलो अण्डा ४९५ रुपैयाँ र मिडियम ४७५ रुपैयाँ पुगेको थियो।

गत मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च थियो। फार्ममा ठूलो अण्डा ५६५ रुपैयाँ र मझौलो अण्डा ५५० रुपैयाँ प्रतिक्रेटटमा बिक्री भएको थियो। अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा बढी भित्रिएको र उत्पादन बढेका कारण नेपाली अण्डाले बजार पाउन नसकेको हो।

अण्डाको उत्पादन लागत प्रतिगोटा १९.१२ रुपैयाँ पर्छ, जसअनुसार प्रतिक्रेटको लागत मूल्य ५७४.५६ रुपैयाँ हुन्छ । लागत मूल्य नजिक पुगेको अवस्थामा पनि मूल्य घटेपछि किसान निराश भएका छन्। संघले देशभरका फार्मबाट मूल्य संकलन गरी चितवनलाई आधार बनाएर समर्थन मूल्य निर्धारण गर्ने गरेको छ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update