Harsamaya

काठमाडौं - नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रत्यक्षतर्फ उम्मेदवार छिन् । उनी यतिबेला कांग्रेस कार्यकर्तासँग आन्तरिक बैठकसँगै मतदाता भेटघाटमा व्यस्त छिन् ।

नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनुअघि सक्रिय विद्यार्थी राजनीतिमा रहेकी सपना पछिल्लो समय सामाजिकसँगै शैक्षिक सेवामा पनि क्रियाशील थिइन् ।

नवीन्द्र सोही क्षेत्रबाट ०६४ र ०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । राम्रो सांगठनिक पकड, निष्ठा र इमानदारीपूर्वक राजनीति गरेर फरक पहिचान स्थापित गराएका उनी क्षेत्र र पार्टीभित्र लोकप्रिय थिए ।

नवीन्द्र सक्रिय राजनीतिमा रहेकाबेला गृहिणीसँगै विभिन्न सामाजिक काममा सक्रिय रहेकी सपना पछिल्लो सयम राजनीतिक गतिविधिमा देखिन थालेकी थिइन् । नेपाली कांग्रेसका सार्वजनिक कार्यक्रममा सक्रिय थिइन् ।

१३ चैत २०७७ मा मस्तिष्कघातबाट नवीन्द्रराजको निधन भएपछि पार्टीले नै उनलाई राजनीतिमा थप सक्रिय गराएको थियो । नवीन्द्रको इमान्दारीता, निष्ठा र सपनालाई साकार पार्न आफू सक्रिय राजनीतिमा आएको बताएकी उनले नेपाल न्यूज बैंकसँग छोटो चुनावी संवादमा मतदाताको स्नेह आफूप्रति रहेको बताइन् ।

‘पहिलो चरणको चुनावी तयारीमा छु । पार्टीपंक्तीका साथीहरुसँग बैठक बसेर चुनावी रणनीति बनाइरहेका छौं । हालसम्मको अवस्था हेर्दा सबैको स्नेह पाउँछु भन्नेमै छु,’ उनले भनिन् ।

आफ्नो क्षेत्रका मतदाताको ठूला आवश्यक्ताहरु नभएपनि दैनिक जीवनमा पर्ने आधारभूत कुराहरु ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

Sapana-Rajbhandari-Joshi-Congress-1769745229.jpg
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ का प्रत्यक्ष उम्मेदवार (नेपाली कांग्रेस) तथा नेपाली कांग्रेसका दिवंगत नेता पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशी।

‘मतदाताका अपेक्षाहरु धेरै हुन्छन् । तर यस क्षेत्रका मतदाताहरुको ठूला आवश्यक्ताहरु छैनन् । पूरा गर्ने किसिमकै छन् । त्यसका लागि म निर्वाचित भए भने राम्रो हुनेछ भन्नेमा सबैजना आशावादी हुनुहुन्छ,’ उनले अगाडि भनिन्,‘भदौ २३ र २४ को आन्दोलन र भयावह अवस्थालाई मध्यनजर गरेर हामी अगाडि बढनुपर्ने अवस्था रहेकाले तत्कालको आवश्यक्ता भनेको जेनजी आन्दोलनको म्यान्डेटलाई साकार पार्नु हो । पुराना पार्टीका व्यक्तिहरु पनि सच्चिएर र बदलिएर आउनुपर्छ भन्ने सबैको चाहना छ । सही व्यक्तिहरु आउनुपर्छ भन्ने मतदाताहरुको इच्छा छ । नेपाली कांग्रेस पनि विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर आएकाले वा रुपान्तरित भएकाले कांग्रेसप्रति हेर्ने दृष्टिकोण बदलिएको छ,’ उनले भनिन् ।

काठमाडौंका अधिकांश तहमा कांग्रेसको बलियो उपस्थिति भएकाले स्थानीय सरकार अर्थात नगरपालिकाहरुले जनताको चाहना अनुसार नै बजेट विनियोजन गरिरहेकाले मतदाताहरुको ठूलो अपेक्षा नभएको उनको बुझाइ छ । ‘केही वडाहरु भौगोलिक रुपमा कठिन अवस्थामा रहेकाले त्यस क्षेत्रका वडाबासीहरुको मागहरु सम्बोधन गर्न आवश्यक छ । मैंले यसअघि पनि धेरै मुद्दाहरुमा सहजीकरण गर्ने अवसर पाएको थिए,’ उनले भनिन् ।

काठमाडौं ८ निर्वाचन क्षेत्र उपत्यकाको कोर एरिया रहेकाले वा पुरातात्विक महत्वका स्थानहरु धेरै भएकाले त्यसको संरक्षण आजको आवश्यक्ता भएको जोशीको भनाइ छ ।

‘मेरो निर्वाचन क्षेत्र पुरातात्विक हिसाबले महत्वपूर्ण छ । बसन्तपुर र स्वयम्भू लगायतका क्षेत्रहरु पर्ने भएकाले त्यस क्षेत्रमा वैकल्पिक सडकहरु नहुँदा यात्रु वा पर्यटकहरुले दुःख पाइरहेकाले त्यसको सुधारमा मेरो महत्वपूर्ण योजना हुनेछ । बसन्तपुर क्षेत्रकै कुरा गर्दा इन्द्रचोक थुनिएको खण्डमा धेरै घुम्नुपर्ने अवस्था छ । त्यसका लागि वैकल्पिक उपायहरु खोज्नुपर्ने छ । सुरक्षाको प्रत्याभूति दिनुपर्ने अर्को महत्वपूर्ण काम गर्नुपर्ने छ,’ उनले भनिन् ।

खोला किनारको बासिन्दाहरु आफ्नै किसिमको समस्या भएकाले त्यसको समाधानका लागि अदालतले पनि केही सहजीकरण गरिदिएको उनको बुझाइ छ ।

काठमाडौं उपत्यकामा यतिबेला वेभ सिगरेटले युवाहरुलाई कुलतमा फसाइरहेकाले त्यसको उपचार र रिहाब सेन्टरहरुको आवश्यक्ता रहेकाले विद्यालयस्तरमै सचेतना आवश्यक रहेको उनको भनाइ छ । ‘मैंले यसअघिको संसदमा यही मुद्दा उठाएको थिए । जसलाई राज्यले तुरुन्तै सम्बोधन गरेर काम अगाडि बढाएको थियो । जसका कारण कुलतमा फसेका युथहरुलाई केही कन्ट्रोल गर्ने प्रयास भएको थियो,’ उनले स्मरण गरिन ।

नेपालको संघीय संसद सोचे जस्तो नभएको अनुभव सुनाउँदै उनले बाहिरबाट हेर्दा भन्दा भित्रको अवस्था विल्कुलै फरक हुने गरेको आफूले पाएको उनले अनुभव सुनाइन । ‘हाम्रो संसदको बाहिरी र भित्री चश्मा फरक रहेछ । काम गर्न वा विधेयकहरु पारित गर्न त्यति सजिलो प्रक्रिया रहेनछ,’ उनले अनुभव साटिन ।

जेनजी आन्दोलनको लक्ष्य र उद्देश्य राम्रो भएपनि विचैबाट ‘हाइज्याक’ गर्दा त्यसको मर्म मर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उनले आगामी निर्वाचनपछि आफूहरुले जेनजीहरुको म्यान्डेट अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाइन् ।

अन्तरिम सरकारका मन्त्रीहरुले पदको लोभमा जिम्मेवारी पूरा नगरी पदबाट राजीनामा दिएकोप्रति असन्तुष्ट जनाउँदै उनले सबैलाई पद र पावर चाहिने रहेछ भन्ने प्रष्ट देखिएको उनले जिकिर गरिन् । ‘जुन उद्देश्यका लागि मन्त्री पदको जिम्मेवारी लिनु भएको थियो सो अनुसार उहाँहरुको भूमिका देखिएन् । निस्कलंकित पनि हुनु भएन् । सबै जनालाई जिम्मेवारी पूरा गर्ने भन्दापनि पद नै चाहिने रहेछ । चार जना मन्त्रीहरुले राजीनामा दिनुभयो । उहाँहरुलाई तुलना गर्नुहोस न कति लालस रहेछ,’ उनले भनिन् ।

जेनजी आन्दोलनले नेपालका सबै राजनीतिक दलहरुको आँखा खोलिदिएको बताउँदै उनले सबै दलहरु सच्चिएर अघि बढ्नुपर्ने धारणा राखिन् । ‘पूराना पार्टीहरुका थुप्रै कमजोरीहरु छन् । त्यही कमजोरीको प्रतिफल स्वरुप जेनजी आन्दोलन भयो । यसले हामी सबैलाई सोच्न बाध्य बनायो । त्यही कारण नेपाली कांग्रेसको विशेष महाधिवेशन भयो र रुपान्तरित भएर अगाडि बढिसकेको छ । नयाँ भनिएका दलहरुले पनि गल्ती नगर्लान भन्न सकिदैन । उहाँहरुपनि सङलो हुनुहुन्न । तत्काल विश्वास गरिहाल्ने अवस्था देखिदैन । पूराना दलहरु बदलिएर आए जनताको विश्वास अझै जितेर अघि बढ्नेछन्,’ उनको दाबी थियो ।

उम्मेदवार जोशीले यतिबेला ठूला ठूला एजेन्डा र आश्वासनहरु बाँडेर अघि बढ्दा समस्या पर्ने पनि बताइन् । ‘पूरा गर्न नसकिने ठूला कुरा गर्न हुँदैन् । विगतको प्रतिनिधि सभामा हामीले देखिसक्यौं । नीति बनाउने सवालमा वा विधेयक पास गर्ने सन्दर्भमा कति कठिन रहेछ भन्ने प्रष्ट देखेर भोगेर आएका छौं । जनताले जिताएर पठाएपछि पहिलो प्राथमिकता आफ्नो क्षेत्र नै हुने भएपनि कतिपय कामहरु गर्न नसकिने रहेछ । त्यसैले सामान्य र आवश्यक एजेन्डाहरु उठाएर चुनावमा जानेछु,’ उनले भनिन् ।

काठमाडौं क्षेत्र नम्बर ८ को सन्दर्भमा हेरिटेजहरुको संरक्षण र फोहोर व्यवस्थापन पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने उनको धारणा छ । आफू स्थानीयबासी सबै मतदाताको पिरमर्का बुझ्ने व्यक्ति भएकाले मतदाताले विश्वास गर्ने उनले बताइन् ।

‘म स्थानीयबासी हुँ । मेरो श्रीमानले धेरै काम गर्नुभयो र केही काम अधुरा छन् । त्यो पूरा गर्न म सँग स्पष्ट भिजन छ । उहाँ(नवीन्द्रराज जोशी)ले अचानक छाडेर जानुभयो । अघि सारेका धेरै योजनाहरु अधुरै छन् । त्यसको साक्षी म आफैं छु । ति सबै कामहरु पूरा गर्न सक्छुजस्तो लाग्छ,’ उनले दृढता व्यक्त गरिन् । उनले काठमाडौं उपत्यकाको संस्कार र संस्कृतिलाई जोगाउनका लागि पनि आफूले अभियान चलाउने बताइन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update