Harsamaya
कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको पकड बलियो ?
ग्राफिक्स : हर समय/Har Samaya

सुर्खेत - आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनमा कर्णालीका चार प्रदेश मन्त्रीसहित नौ जना पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् ।

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चार जना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरु छन् । पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्व पर्यटन मन्त्री खड्कबहादुर बिश्वकर्मा, पूर्व सहरी बिकास मन्त्री धनबहादुर बुढा र कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री तथा पूर्व ऊर्जा मन्त्री महेन्द्र बहादुर शाही चुनावी मैदानमा छन् ।

त्यस्तै कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री नरेश भण्डारी जुम्लाबाट, गोपाल शर्मा रुकुम पश्चिमबाट, चन्द्रबहादुर शाही मुगुबाट र अम्मरबहादुर थापा दैलेख क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । यी सबै पूर्वमन्त्रीहरु माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका हुन् ।

कस्को अवस्था के ?
जनार्दन शर्मा पूर्व अर्थमन्त्री
तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेता हुन् जनार्दन शर्मा । कुनै समय उनी नेकपाका संयोजक प्रचण्डका विश्वस पात्र थिए । प्रचण्डको विश्वासकै कारण कर्णालीमै उनको प्रभाव रहन्थ्यो । त्यसैले त कर्णाली सरकारको मुख्यमन्त्री जो भए पनि उनकै इशारामा चल्ने समय थियो कुनै बेला । यतिसम्म कि महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा उनले कर्णाली प्रदेश सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बनाएर जनार्दनलाई संयोजक बनाएका थिए ।

रुकुम पश्चिममा जनार्दनको नाम लिएर जो कोही चुनावमा गए पनि जितिन्छ भन्ने प्रभाव बनाएका थिए उनले । तर, अहिले उनी आफै चुनाव कसरी जित्ने भन्ने रणनितिमा छन् । उनले तत्कालिन पार्टी छोडेर प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट चुनावमा होमिएका छन् । रुकुम पश्चिममा कुनै बेलाका आफ्नै कार्यकर्ता गोपाल शर्मासंग भिड्दैछन् जनार्दन । जनार्दनको प्रभाव क्षेत्र भनिएको रुकुम पश्चिममा उनलाई चुनाव जित्न सहज नभएको स्थानीयले बताएका छन् ।

शक्तिबहादुर बस्नेत : पूर्व गृह मन्त्री
पूर्व गृहमन्त्री भई सकेका शक्ति बहादुर बस्नेत जाजरकोटबाट चुनावी मैदानमा होमिएका छन् । यहाँ उनले नेपाली काँग्रेससंग प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । शान्ति प्रक्रियामा आए यता जाजरकोटबाट लगातार चुनाव जित्दै आएका बस्नेत लाई उनको पार्टीका नेताहरुलाई मिलाउनु पर्ने चुनौती छ । चुनावमा टिकटका आकांक्षी रहेका गणेश प्रसाद सिंहले पार्टी परित्याग गरेको घोषणा गरेपछि बस्नेतलाई चुनाव जित्न सहज नभएको स्थानीयको आंकलन छ ।

सधै टिकट ल्याउन सफल भए पनि यो पटक जाजरकोटबाट चुनाव जित्न सहज नभएको स्थानीय बताउँछन् । उनलाई नेपाली काँग्रेसका खडक बिसी र नेकपा एमालेका डम्मर सिंहले चुनौती दिएका छन् । काँग्रेसका बिसी जिल्लामै बसी रहने यूवा भएकोले जनताको रोजाईमा पर्ने काँग्रेसका नेताहरुको दाबी गरेका छन् ।

धनबहादुर बुढा : पुर्व सहरी बिकास मन्त्री
पूर्व सहरी बिकास मन्त्री धनबहादुर बुढा डोल्पाबाट चुनाव लडेका छन् । तत्कालिन समयमा नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढा पार्टी एकीकरण पछि नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार छन् । रोचक त के छ भने उनले आफ्नै सहोदर दाजु कर्णबहादुर बुढासंग प्रतिष्पर्धा गर्दैछन् । नेपाली काँग्रेसको सहमहामन्त्री बुढा पनि डोल्पाबाट चुनावमा उठेका छन् ।

आमने सामने प्रकाण्ड र महेन्द्र
तत्कालिन युद्धको बेला खड्कबहादुर बिश्वकर्मा युद्धको योजनाकार थिए । त्यहीबेला महेन्द्रबहादुर शाही जनमिलिसियामा भर्ना भएर जनयुद्धमा सहभागि भए । महेन्द्रबहादुर शाही जनयुद्धको प्रभावबाट शान्ति प्रक्रियामा पुग्दासम्म छापामार हुँदै डिभिजन कमाण्डर बने भने खड्कबहादुर तत्कालिन अन्तरिम कालमा वित्रायक बनेर संसद छिरे । 

प्रचण्डका विश्वास पात्र प्रकाण्ड २०६४को संविधान सभापछि प्रचण्डको मन्त्रीपरिषद्मा मन्त्री पनि बने । त्यही बेला माओवादी लडाकूू शिविरमा रहेका महेन्द्र २०६८ सालमा माओवादी विभाजनबाट प्रकाण्ड मोहन बैद्य नेतृत्वमा लागे पछि राजनितिमा आएका महेन्द्र यो पटक कालिकोटबाट आमने सामने भएका छन् ।

नेकपा माओवादीका प्रवक्ता समेत रहेका प्रकाण्डले उम्मेदवारी दर्ता गराएसँगै कालिकोटको राजनितिक माहोल फेरिने आँकलन गरिएको छ । 

२०७० सालको संविधान सभा निर्वाचन यता कहिले संघमा र कहिले प्रदेशमा चुनाव लडेर अवसर जित्ने पाएका महेन्द्रका लागि यति बेला चाहि जित सहज हुने छैन । उनलाई पार्टीका केन्द्रीय सदस्य जीवन बुढाले बागी उम्मेदवारी दर्ता गरेर चुनौती दिएका छन् । माओवादी विभाजन, प्रकाण्डको उम्मेदवारी र महेन्द्रको लामो संसदीय यात्राले कालिकोटको परिणाम काँग्रेस एमालेको पोल्टामा पर्न सक्ने अनुमान पनि गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update