काठमाडौँ - कवयत्री रिमा केसीको तेस्रो कृति ‘बगावतनामा’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमकाबीच प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, राजनीतिक विश्लेषक तथा लेखक आहुति, निबन्धकार तथा पत्रकार दीपक सापकोटा र कवि लक्ष्मी मालीले किताब सार्वजनिक गरेका हुन् ।
संग्रहभित्रका चार भागमा समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक न्याय, विद्रोह, आत्मसम्मानलगायत विषयमा लेखिएका चालीस थान कविता समावेश छन् ।
कार्यक्रममा कुलपति राईले केसीका कविता कानैछेउ भएर सुसेल्दै बहने हावाजस्तो मिठासपूर्ण भएको बताए । कवि केसीका कविता पाठकीय दृष्टिकोणबाट अब्बल रहेको बताउँदै उनले भने, ‘कविता मूलतः बोध हो, व्याख्या हैन । पाठकीय हो, समालोचकीय होइन । भएको ठाउँमा यस्तो हुनुपथ्र्यो भनेर म कविताको अर्को सिद्धान्त बनाउँदिनँ । यसका लागि कवि केसीका कविता सक्षम छन् ।’
सिद्धान्त, शास्त्र र व्याकरणबाट माथि उठेर ‘बगावतनामा’ मा कवि केसीले पददलित मान्छेको चित्कारजस्ता कविता लेखेको राईको भनाइ थियो ।

विश्लेषक आहुतिले संग्रहमाथि आलोचनात्मक टिप्पणी गर्दै ‘साहित्य समाजका लागि हुन्छ र साहित्यमा राजनीतिक, सामाजिक तथा वैचारिक दृष्टिकोण आवश्यक हुने’ बताए । उनले मध्यमवर्गले अबको वैचारिकी बोक्न नसक्ने बताउँदै साहित्य श्रमिक वर्गको दृष्टिकोणबाट लेखिनुपर्ने तर्क गरे ।
निबन्धकार तथा पत्रकार दीपक सापकोटाले कवि केसी समकालिन कविताको गम्भीर स्वर भएको बताए । ‘कविता सधैँ प्रेमबाट सुरु हुन्छ, तर त्यो प्रेम सधैँ कोमल मात्रै हुँदैन । कहिलेकाहीँ प्रेम प्रश्न हुन्छ, कहिलेकाहीँ अस्वीकार र कहिलेकाहीँ प्रतिरोध । बगावतनामा यही द्वन्द्वात्मक भूमिमा उभिएको किताब हो,’ उनले भने, ‘जहाँ प्रेम र प्रतिरोध एक–अर्काको विकल्प होइनन्, बरु एक–अर्काका गहिरा सम्भावना हुन् ।’‘बगावतनामा’मा सरल, तर बोध–गम्भीर कविताहरु रहेको सापकोटाले बताए ।
कवि मालीले केसीका कविता समकालिन कवितामा बहस सिर्जना गर्न सक्षम र अब्बल रहेको बताइन् । ‘कविले समकालीन स्वरमार्फत् समाजलाई असल बाटो देखाएकी छिन्,’ मालीले भनिन् ।
कार्यक्रममा कविहरू स्वप्निल स्मृति, प्रज्वल अधिकारी, सुरज राना, अस्मिता केसी र मीरा जिएमले ‘बगावतनामा’ भित्रका कविताहरू वाचन गरेका थिए ।
प्रकाशन–संस्था इन्डिगो इन्कले प्रकाशन गरेको किताब ‘बगावतनामा’ को मूल्य ५४९ रुपैयाँ रहेको छ ।

