रामेछाप - कृषि तथा पशुजन्य उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले मन्थली नगरपालिकाले मन्थलीमा दुईदिने कृषि तथा लघुउद्यम मेलाको आयोजना गरेको छ ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले उद्घाटन गरेको मेला दुई दिनसम्म चल्नेछ । मेलामा मन्थली नगरपालिका भित्रका अगुवा किसान तथा लघुउद्यमीले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादन र लघुउद्यमबाट उत्पादित सामाग्रीहरू प्रदर्शनी र बिक्रीमा राखिएका छ ।
नगरपालिकामा उत्पादित बस्तुको प्रवर्धन, किसानहरू बिच अनुभव र सिप आदानप्रदान, उत्पादक र उपभोक्ताबिच सिधा सम्बन्ध स्थापित गर्ने तथा कृषक र व्यवसायी बिचको सम्बन्ध विस्तारको लागि मेला आयोजना गरिएको मन्थली नगरपालिकाको कृषि विकास शाखा प्रमुख यौवन सुनुवारले जानकारी दिए । मेलामा ५४ वटा स्टलहरू राखिएका छन् ।
प्रदर्शनीमा लघुउद्यमबाट उत्पादन भएका हाते बुनाइका सामाग्री, बाँस, निगालोका सामान, दुना–टपरी, साबुन, सरफ, दुधजन्य उत्पादन, तरकारी, गेडागुडी, फलफूल, खसी–बोका राखिएका छन् ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जेनजी आन्दोलनका नाममा देशले ठुलो क्षति बेहोरेको बताउँदै यस्ता अपराध गर्ने मानिसलाई चिन्नु पर्ने बताए । उनले अहिलेको केन्द्र सरकारलाई संविधान र प्रदेश सरकाले समेत नचिन्ने बताए । बाँकी फैसला जनताले गर्ने उनले सुनाए ।

