काठमाडौं - एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २.३७ करोड अमेरिकी डलर मूल्यका दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । यी सम्झौताले नेपालको दीर्घकालीन आर्थिक वृद्धि तथा विकासलाई अगाडि बढाउने कम्प्याक्टको लक्ष्य हासिल गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्छन् ।
एमसिए–नेपालले आज एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि शर्मा –कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ ।
यसैगरी एमसिए–नेपालले हालै उक्त सडक खण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट –मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इण्टरनेशनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिव ३६.६ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ ।
यी आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किमि सडक खण्डमा स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिनेछ भने नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत गरिनेछ । सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि ती नयाँ प्रविधि नेपालमै पहिलो पटक गर्न लागिएको हो ।
आज एक समारोहबीच नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सन, अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकाल, सडक विभागका महानिर्देशक डा. विजय जैसी, एमसिए–नेपाल सञ्चालक समितिका सदस्यहरू, एमसीसी नेपालका निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेल तथा एमसीसी र एमसिए–नेपालका कर्मचारीहरूको समुपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट तथा शर्मा –कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलादेखि लमहीसम्मको सडक खण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुका साथै उक्त सम्झौता एक आपसमा आदानप्रदान गरे ।
सडक मर्मत आयोजना यातायात लागत घटाउने र नेपालका सडकको अवस्थामा सुधार गर्ने उद्देश्य बोकेको एमसीसी नेपाल कम्प्याक्टको एउटा कार्यक्रम हो ।

