Harsamaya
लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही ‘शी लिड्स’ आइकन विजेता
कैलाली लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही ।

काठमाडौं - कैलाली लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले शी लिड्स आइकनको उपाधि जितेकी छिन् । कल्प इम्पावर वेमेन नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा मेयर शाहीले शी लिड्स आइकनको उपाधि जितेकी हुन् ।

उनीसँगै इलाम नगरपालिकाकी विष्णु कुमारी लिम्बु, षडानन्द नगरपालिका उपमेयर प्रमिला राई, बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवाल, ठाकुरवावा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराई, साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामांग र कुशे गाउँपालिकाकी देविका कुमारी सिंहले सो उपाधि जितेका छन् ।

नगरप्रमुख शाहीले शी लिड्स आइकन दोस्रो संस्करण–२०८२ मा मतदान गरेर विजेता बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिएकी छिन् । कल्प इम्पावर वेमेनले महिला जनप्रतिनिधिहरूको भोटिङको आधारमा यो उपाधि दिँदै आएको छ । स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको काम र योगदानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित ‘शी लिड्स’ आइकन सुरु गरेको आयोजकले जनाएको छ ।

प्रेरणादायी महिला जनप्रतिनिधिमध्येबाट सात जना उत्कृष्ट महिला जनप्रतिनिधिलाई शी लिड्स आइकन घोषणा गरिएको हो । यो दोस्रो संस्करण हो । कार्यक्रममा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रथम महिला सभामुख ओनसरी घर्ती मगर र प्रथम महिला प्रदेश प्रमुख अनुराधा कोइराला तथा विभिन्न क्षेत्रका अग्रणी महिलाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update