काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार लोकतन्त्रलाई बहाल गर्न वा हिंसालाई शान्तिमा बदल्नका निम्ति नभई मुलुकलाई थप सङ्कटमा पुर्याउनका लागि अग्रसर रहेको बताएका छन् ।
शनिबार भृकुटीमण्डपमा एमालेको बागमती प्रदेश स्तर जनसभालाई सम्बोधन गर्दै उनले हालको सरकार सङ्क्रमणलाई राजनीतिक स्थायित्वमा लैजानका लागि नभई मुलुकलाई थप सङ्कटमा पुर्याएको बताएका हुन् । उनले यो सरकारबाट संक्रमणकालको व्यवस्थापन हुन नसक्ने समेत दाबी गरे ।
उनले भने, ‘हामीले बुझ्नु पर्दछ यो सरकार लोकतन्त्रलाई बहाल गर्नका लागि हैन, हिंसालाई शान्तिमा बदल्नलाई हैन, सङ्क्रमणलाई राजनीतिक स्थायित्वमा लैजानका लागि नभई मुलुकलाई थप सङ्कटमा पुर्याउनका लागि सरकार उद्धत र अग्रसर छ भन्ने हामीले बुझ्नुपर्दछ ।’
नेता पोखरेलले जेनजीको आवरणमा सत्तामा पुगेको सरकारले राजनीतिक दलहरूको बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
उनले नेपालको राजनीतिक इतिहासमा हरेक राजनीतिक आन्दोलन पछिको व्यवस्थापनको सन्दर्भमा पुरानो शासन व्यवस्थामा रहेका व्यक्तिहरूलाई समेत शान्तिको प्रक्रियामा ल्याउने काम हरेक पटक भएको पनि स्मरण गरे ।

