Harsamaya
‘६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’
नेकपा एमालेका नेता महेश बस्नेत ।

काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले आगामी ६ गतेको एमालेको प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दावी गरेका छन् । 

बुधबार सिमरा जान रोकिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ६ गतेको एमालेको प्रदर्शनपछि आफूले राजीनामा दिनुपर्छ भन्ने थाहा पाएर प्रधानमन्त्री कार्कीले बारामा कार्यक्रमको लागि जान आफूहरुलाई रोकेको आरोप लगाए । 

उनले भने, ‘हामी ६ गते उपत्यका स्तरको ठूलो सभा ११ बजे भृकुटीमण्डपमा गर्दै छौं । ६ गतेको त्यो सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उनलाई थाहा छ । अब हल्लीसक्यो जरादेखि नै भन्ने उनलाई थाहा छ । यो अवैधानिक सरकार संविधानले नचिन्ने पूर्वप्रधानन्यायाधिस मानव अधिकार आयोगमा बाहेक अन्त जान मिल्दैन् जेनजीको हजुरआमा सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छिन् । बारामा हामीलाई रोकेर उनले एउटा धक्का दिएकी हुन् ।’

त्यस्तै, उनले प्रधानमन्त्रीले जेनजीहरु परिचालन गरेर आफूलाई रोकेको आरोप लगाए । एमाले र युवासंघ भनेको दुबोजस्तो भएको भन्दै एउटा मुना चुडाल्दा २० वटा पालुवा हाल्ने तर्क गरे । त्यस्तै उनले काठमाडौंमा अहिलेसम्म नभएको सभा गर्ने पनि दाबी गरेका छन् । 

जेनजी प्रदर्शनकारीको अवरोधका कारण आज शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेता काठमाडौंबाट उड्न लाग्दा विमानबाट ओर्लनुपरेको थियो । बाराको सिमरा विमानस्तस्थलमै प्रदर्शनकारी र एमाले समर्थित युवाबीच झडप समेत हुँदा प्रशाासनले कफ्र्यू लगाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update