हेटौँडा - बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले प्रदेशको धुलो दूध कारखानामा अनुगमन गरी शीघ्र पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार मन्त्री पौडेलले करिब ४७ करोड रुपैयाँको लगानीमा निर्माण भए पनि सञ्चालन कार्यविधि नबन्दा लामो समयदेखि परीक्षण उत्पादनमै सीमित रहेको उक्त कारखानाको भौतिक र प्राविधिक अवस्था बुझेका हुन् ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ पुस १६ गते शिलान्यास गरेको र झन्डै तीन वर्ष लगाएर निर्माण पूरा भएको यो कारखानाले २०८० सालको मङ्सिरबाटै परीक्षण उत्पादन सुरु गरेको थियो । तर, प्रदेश दुग्ध विकास बोर्डले सञ्चालनको मोडालिटी तथा कार्य योजना तय गर्न नसक्दा यो ठूलो लगानी अलपत्र पर्ने जोखिम बढेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
अनुगमनपछि प्रतिक्रिया दिँदै मन्त्री पौडेलले लगानी जोखिममा पर्नु गम्भीर विषय भएको औँल्याए । उनले कारखाना सञ्चालनको कार्यविधि तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताए । उनको अनुगमनको मुख्य उद्देश्य भनेको छिटो कार्यविधि स्वीकृत गरी कारखानालाई पूर्ण क्षमतामा सञ्चालनको सुनिश्चितता गर्नु रहेको प्रस्टोक्ति दिए ।
मन्त्री पौडेलका अनुसार कारखाना पूर्ण रूपमा सञ्चालनमा आएमा प्रदेशभित्र दूधको अधिक उत्पादन भएको बखत किसानले दूध सडकमा फाल्नुपर्ने वा सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन् । दैनिक ६० हजार लिटर दूध खपत गर्ने क्षमता रहेको र वार्षिक करिब १५ सय मेट्रिक टन धुलो दूध उत्पादन गर्न सक्ने यो कारखानाले दुग्ध किसानलाई उचित मूल्यको निश्चितता प्रदान गरी प्रदेशको कृषि अर्थतन्त्रलाई ठूलो टेवा पुर्याउनेछ ।
हाल, कारखानाबाट धुलो दूध परीक्षण उत्पादनका लागि दुग्ध विकास संस्थान (डिडिसी)लाई जिम्मेवारी दिएको भए पनि यसलाई औपचारिक निर्णय भने दिइएको छैन ।
मन्त्री पौडेलले अब डिडिसीलाई नै निरन्तरता दिने कि प्रतिस्पर्धाका आधारमा अन्य संस्थालाई जिम्मा दिने भन्नेबारे छलफल भइरहेको जानकारी दिए । परीक्षणकालमै डिडिसीले ४४ लाख लिटर दूध प्रशोधन गरी ३ सय ९९ मेट्रिक टन धुलो दूध र २ सय मेट्रिक टन बटर उत्पादन गरेको तथ्याङ्क छ ।

