Harsamaya
मकवानपुरको सिआन पुनर्स्थापना केन्द्र र लाइफ केयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन

मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ मा अवस्थित सिआन पुर्नस्थापना केन्द्र र सिआन लाइफ केयर सेन्टर (मकवानपुरको पहिलो महिला सुधार गृह) मा प्रशासन, प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संयुक्त रूपमा अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुबास चन्द्र बोहोरा र सिआइबी का प्रमुख हेमन्त चौधरीसहितको संयुक्त टोलीले बुधबार अनुगमन गरेको हो ।

सिआन पुनर्स्थापना केन्द्रको स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू, सेवा प्रवाह, वैज्ञानिक अभ्यासका माध्यमबाट गरिएको उपचार पुनर्स्थापना कार्य र दीर्घकालीन योजनाबारे केन्द्रका कर्मचारी मनिश मान श्रेष्ठले विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पुनर्स्थापना केन्द्रले मकवानपुरमा लागु औषध दुरुपयोग नियन्त्रण र उपचार पुनर्स्थापना क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै भने, “सिआन पुनर्स्थापना केन्द्रले व्यवस्थित ढङ्गले सञ्चालन हुँदै जिल्लामा उदाहरणीय भूमिका निर्वाह गरेको छ । राज्यका निकाय र पुनर्स्थापना संस्थाबिचको सहकार्य अझ सुदृढ बन्न आवश्यक छ ।”

त्यसै गरी जिल्ला प्रहरी प्रमुख एसपी बोहराले लागु औषध नियन्त्रणका प्रयासमा प्रशासन, प्रहरी र पुनर्स्थापना संस्थाबिचको सहकार्य अपरिहार्य रहेको बताए । उनले भने, “आगामी दिनमा अझ सशक्त सहकार्य गर्दै लागु औषध नियन्त्रण र पुनर्स्थापना कार्यमा अघि बढ्ने प्रतिबद्धता गर्दछौँ ।”

सिआन पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक शौजन क्षेत्री (डी.सी.) ले केन्द्रले सेवा सञ्चालनका क्रममा सामना गरिरहेका चुनौतीबारे सरोकारवालाको ध्यानाकर्षण गराउँदै भने, “सहयोग र सहकार्यका माध्यमबाट मात्रै पुनर्स्थापना क्षेत्र अझ सुदृढ र प्रभावकारी बन्न सक्छ। हामी सधैँ सरकारी निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौँ ।” कार्यक्रममा जिल्ला प्रशासन, प्रहरी, स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमले मकवानपुर जिल्लामा लागु औषध विरुद्धको लडाइँलाई संस्थागत र सहकार्यात्मक ढङ्गले अघि बढाउन महत्त्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update