Harsamaya
स्याउले सिप्टिङ होमस्टे : जहाँ रातो टीका–माला र मह मिसाइएको पानीले स्वागत गरिन्छ 
स्याउले सिप्टिङ होमस्टेमा पाहुनालाई स्वागत गर्दै ।

धनकुटा - नेपालको पूर्वी पहाडमा उक्लँदा भेटिन्छ– एक गाउँ, जहाँ पर्यटक केवल पाहुना होइन, परिवारका सदस्य बन्छन् ।

धनकुटाको हरियाली डाँडामाथि, बिहानको निश्चल हावासँगै सुनजस्तै टल्किने घामका किरणहरु जब स्याउले सिप्टिङमा छर्छ, त्यहीँबाट सुरु हुन्छ–नेपालकै लोपन्मुख आठपहरिया समुदायको आत्म–गौरव र अतिथि सत्कारको कथा । 

नेपालको जनगणना अनुसार २०७८ आठपहरियाहरुको संख्या ५ हजार ८७८ जना रहेको नेपालको तथ्यांक विभागमा उल्लेख छ । नेपालको पूर्वी भेग अरुण र तमोर नदीबीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको एक सीमान्तकृत आदिवासी जनजाति ‘आठपहरिया’ ले धनकुटा नगरपालिका वडा नम्बर ३ स्याउलेमा स्याउले सिप्तिङ आठपहिरिया सामुदायिक होमस्टे सञ्चालन गरेका छन् ।

होमस्टेको सुरुवातका लागि इन्टिग्रेटेड सेन्टर फर माउन्टेन डेभ्लप्मेन्ट (ईसिमोड) र कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन) ले गरेका थिए भने आतिथ्य सत्कार र क्षमता विकासका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनर्रुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले संस्कृती प्रबद्र्धन गर्न धनकुटा नगरपालिकासँग सहकार्य गरेका थिए ।

संख्या सानो तर सांस्कृतिक सम्पदामा समृद्ध  रहेको यस समुदायले सञ्चालन गरेको होमस्टे अहिले स्थानीय पर्यटनको नयाँ पहिचान बनेको छ । यहाँका पाहुनाको स्वागत कुनै होटलको औपचारिकता जस्तो होइन–मौलिक संस्कृतीको झलक देखिन्छ । पाहुना आउँदा घरका भने घरका आमा–दिदीहरूले रातो टीका, फूलको माला र हर्षको मुस्कानसहित स्वागत गर्छन् ।

त्यसपछि हातमा राखिन्छ–मौरीको मह मिसाइएको पानी–जसले ‘स्वाद पनि आफ्नो, सन्देश पनि आफ्नै’ भन्ने भाव बोकेको हुन्छ । त्यसपछि पाहुनालाई होमस्टे र समुदायको इतिहास, संस्कार र संस्कृतीबारे जानकारी गराइन्छ ।  आठपहरिया समुदायले आफ्नो पहिचान र परम्परा जोगाउँदै पर्यटनलाई आत्मसात् गरेका छन् । त्यसपछि सुरु हुन्छ अनुभवको यात्रा—कृषि, संस्कृति र प्राकृतिक सुन्दरताको संगम ।

स्याउले सिप्तिङ पुग्ने जो–कोहीको ध्यान पहिला सुन्तला बगैँचातिर तानिन्छ । पाहुनाहरू बगैँचामा हिँड्दै स्थानीय कृषकसँग संवाद गर्छन्—सुन्तला खेती, मह उत्पादन र स्थानीय बीउ संरक्षणबारे । होमस्टेले पाहुनालाई केवल बास मात्र होइन, जीवनशैलीको अध्ययन र अनुभव पनि दिन्छ । गत वर्ष यस होमस्टेमा ७२ जना पर्यटकलाई स्वागत गर्ने मौका पाएको होमस्टेका अध्यक्ष हिराबहादुर राईले जानकारी दिएका छन् । उनका अनुसार २४ जना अन्तर्राष्ट्रिय र बाँकी आन्तरिक पर्यटक थिए । यस वर्ष यो संख्या बढ्दै ८२ मा पुगेको छ ।

यहाँको आतिथ्य, हरियाली, र आत्मीयताले नै पाहुनाको मन जितेको हो । एक रातमा १७ जना पाहुनालाई बास दिनसक्ने गरी विकास गरिएको यस होमस्टेले अब सामुदायिक पर्यटनको नमूना प्रस्तुत गरेको छ । पाहुनाहरुको स्वागत, मनोरञ्जन, संस्कृतीको जगेर्ना र नयाँ पुस्तालाई आफ्नो संस्कृतीबारे जानकारी गराउने उद्देश्यले हरेक बेलुका स्थानीय सांस्कृतीक नृत्यहरु प्रस्तुत गरिन्छ ।
स्याउले सिप्तिङ पुग्ने जो कोही पाहुनाको अर्को आकर्षण हो– साततले झरना र गुफा । सामुदायिक होमस्टेदेखि १५ मिनेटको गाडीको यात्रापछि करिब डेढ घण्टा पैदल यात्रा गरेपछि पहाडको मुटुबाट बगेको झरनाको देख्न पाइन्छ ।

झरना पुग्नुभन्दा एक किलोमिटरको अघि साततले गुफा पनि रहेको छ । यो सम्पूर्ण क्षेत्रलाई पहुँचयोग्य बनाउन एसटीपीले पदमार्ग निर्माण गरिदिएको छ । यसले होमस्टेलाई मात्र होइन, सम्पूर्ण गाउँलाई पर्यटन मानचित्रमा समेटेको छ । 

आठपहरिया समुदाय नेपालको लोपन्मुख जातिहरूमध्ये एक हो– उनीहरुको आफ्नै भाषा, गीत, नृत्य र परम्परा छ । पछिल्लो समय आधुनिकतासँगै संस्कृती हराउने चिन्ता हिराबहादुरलाई छ ।

उनी भन्छन्, ‘हामीले त पुर्खाहरुबाट सिक्यौं । तर, नयाँ पुस्ताले आधुनिकतामा रमाएर आफ्नो संस्कृती छोड्दै जाँदा इतिहास नै मेटिन्छ कि जस्तो लाग्छ । त्यसपछि अहिले हामीले संस्कृती हस्तान्तरण र सिकाइका लागि हरेक साँझ सांस्कृतिक कार्यक्रमहरु गर्ने गरेका छौं ।’ उनले पर्यटनलाई संस्कृति संरक्षणको माध्यम बनाइरहेको पनि बताएका छन् ।

होमस्टे यहाँ केवल व्यवसाय मात्र नभएर संस्कृति जीवित राख्ने प्रयासको रुपमा हेर्न सकिन्छ । पाहुनाले यहाँ बास गर्दा केवल प्रकृति मात्र हेर्दैनन्, उनीहरू जीवनको एक पुरानो अध्यायसँग भेट गर्छन्—जहाँ सम्बन्ध, श्रम र माटोको गन्ध मिसिएको छ ।

स्थानीय युवाहरू यस परियोजनामा सक्रिय छन् । उनीहरू पर्यटन व्यवस्थापन, पाहुना सेवा र गाइडिङमा दक्ष बन्दै गइरहेका छन् । तर, अझै सहज पहुँचका लागि होमस्टेसम्म जोड्ने बाटो बनाउन सहयोगका लागि सरकारसँग स्थानीय समुदायले आग्रह गरेका छन् ।

होमस्टेको अवलोकन भ्रमणपश्चात दीगो पर्यटन परियोजनाका अधिकृत खगेन्द्र खड्काले भने, ‘स्याउले सिप्तिङ सामुदायिक होमस्टेले नेपालमा सांस्कृतिक पर्यटनको नयाँ परिभाषा दिइरहेका छ । स्याउले सिप्तिङको साँझमा जब ढोल बज्छ र आठपहरियाहरू परम्परागत नृत्यमा रमाउँछन्, पाहुना पनि सँगसँगै नाच्छन् । त्यो क्षणमा संस्कृति, प्रकृति र मानवीय आत्मीयता एकै ठाउँमा मिसिएको अनुभव हुन्छ । यसले ग्रामीण अर्थतन्त्रमा सशक्त प्रभाव पार्ने मात्र नभएर संस्कृती जगेर्नामा पनि कोशेढुंगा सावित हुनेछ ।’

-लेखक - शिखा श्रेष्ठ

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update