मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पुरिइन्
गोरखा - मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए ।
न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ बजेतिर घटना भएको उनले बताए । ‘भिरबाट झरेको ढुङ्गाले उहाँलाई पुरेको छ । टाउको मात्र देखिएको छ, उनले भने, ‘उहाँको श्रीमान् र म चाहिँ सकुशल छौँ ।’
त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उनले बताए । ‘उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्’, उनले भने । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२ १९:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

