सन्तोष गौतम / रासस
म्याग्दी - अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएन । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटेल भरिभराउ भएका छन् । होटेल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाका रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो । स्थल मार्गबाट घुम्नेहरुका रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ ।
आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरुले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ ।
छोटो अवधीमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहासिक यात्रामा रुची राख्नेहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन् ।
फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल हुँदै चार हजार १९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो ।
म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको संख्या दैनिक पाँच सयजना भन्दा बढी छ । बेनीका होटेल व्यवसायी हरिकृष्ण श्रेष्ठले अन्नपूर्ण आधार शिविर र मुस्ताङमा यसपाली कल्पना गरेको र भएका होटेलहरुको क्षमताभन्दा धेरै संख्यामा पाहुना आएका बताए ।
“दसैँ र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरुको घुइँचो विगतदेखिनै भए पनि यसपाली अन्नपूर्ण आधार शिविर जानेहरु पनि थपिदा होटेल, रेष्टुरेन्ट र होमस्टेहरुले थेग्न नसकेका हुन्,” उनले भने, “आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि राज्यले बनाएको नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा घुमेर रमाउन आएका पाहुनाहरुले गोजीमा पैसा भएर पनि खाना र बस्नको लागि दुःख पाउने अवस्था आएको हो ।”
होटेलको क्षमताले नथेकेपछि म्याग्दी र मुस्ताङका प्रशासन, सुरक्षा निकाय, होटेल ब्यवसायी र उद्योग वाणिज्य संघले अग्रिम बुकिङ गरेर घुम्न आउन अनुरोध गरेका छन् ।
कुश्मा, बागलुङ र पोखराका होटेल, व्यक्तिका घर, सामुदायिक भवन र धर्मशालामा बसोबासको व्यवस्था मिलाइएको छ । म्याग्दीका होटेलमा दैनिक दुई हजार र मुस्ताङमा दैनिक तीन हजार जनासम्म पाहुनालाई सहज रुपमा व्यवस्थापन गर्न सकिने क्षमता छ ।
भुरुङ–तातोपानीका होटेल व्यवसायी राजु हमालका अनुसार अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग, म्याग्दी र मुस्ताङका होटेलहरु यो हप्ताको अन्तिमसम्म बुक भइसकेका छन् ।
“छठपछि स्कुल, कलेज, कार्यालय खुल्ने हुँदा पाहुनाको आगमन दर घटे पनि अकुपेन्सी राम्रो छ,” उनले भने, “जेनजी आन्दोलनका कारण सोह्रश्राद्ध र प्रतिकूल मौसमले दसै लगत्तै पर्यटक आगमन नहुँदा निराश भएका व्यवसायीलाई राहत मिलेको छ ।”
सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
“मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो,” उनले भने, “ यात्रामा हिमालको फेदीमा पुग्न सकिने भएकाले युवायुवती अन्नपूर्ण आधार शिविरमा आकर्षित भएका हुन् ।”
सामाजिक सञ्जालका सामग्री र सञ्चार माध्यममा प्रकाशन भएका समाचारले पनि पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ । पर्यटक आगमनले म्याग्दी र मुस्ताङमा होटेल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिका लागि प्रेरित, नयाँ लगानीको सम्भावना देखाउनुका साथै अन्नपूर्ण आधार शिविरको पदमार्गमा सीमित संख्याको क्षमतामा रहेका होटेलहरुको क्षमता बढाउन राज्यलाई दबाब पुगेको उनले बताए ।
भ्रमणमा आउने पाहुनाहरुले अग्रिम बुकिङ गरेर आएमा व्यवस्थापनमा सहज हुने उनले बताए । बेनी–जोमसोम सडकका म्याग्दी खण्डको अधुरो सडक स्तरोन्नतिलाई पूर्णता दिनुपर्ने, पहिरो तथा कटान प्रभावित ठाउँको सडकलाई सुरक्षित बनाउन, होटेलहरुको वर्गीकरण गरी सेवा शुल्कमा नियमित गर्नुपर्ने पर्यटकले बताएका छन् ।

