Harsamaya
तिहार खर्च जुटाउन सस्तोमा धान बेच्दै बर्दियाका किसान
सरकारले तोकेको समर्थन मूल्य भन्दा कम मूल्यमा बर्दियाका किसानहरु धान बेच्न बाध्य ।

बर्दिया - सरकारले तोकेको समर्थन मूल्य भन्दा कम मूल्यमा बर्दियाका किसानहरु धान बेच्न बाध्य भएका छन् । तिहारको खर्च जोहो गर्नका भएपनि किसाहरु समर्थन मूल्यभन्दा सस्तो मूल्यमा धान बेच्न बाध्य भएका हुन् ।

धान खरिदको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलाई गरेको छ । त्यसैको मौका छोपेर स्थानीय व्यापारीहरूले धमाधम किसानको धान कम मुल्यमा खरिद गरिरहेका छन् । बर्दियामा किसानहरूले २५ सय देखि २७ सय प्रतिक्विन्टल मोटा धान विक्रि गरिरहेका छन् । सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ५३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भन मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपैयाँ तोकेको छ ।

धान बेचेर तिहार खर्च जुटाउने किसानहरू यतिबेला मर्कामा परेका हुन् । धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीहरूले धान खरिद सुरु नगर्दा व्यापारीहरूलाई कम मुल्यमा धान बेच्न किसानहरू बाध्य भएका हुन् । मुल्य बृद्धिका लागि समय कुर्न भण्डार गर्ने स्थान नभएको र तिहार खर्च जुटाउन गाह्रो भएकोले धान बेच्नु परेको किसानहरू बताउँछन् ।

गुलरिया नगरपालिका वडा २ पण्डिपुरकी सिता खत्रीले तिहार खर्च नभएर सस्तोमा धान बेचेको बताए । उनले धानको मुल्य नपाएर प्रति क्वीन्टल दुई हजार पाँच सयका दरले धान बेचेको बताए । उनले भने, ‘सरकारले मोटा धानको मुल्य तीन हजार चार सय भन्दा बढि तोकेपनि किसानले नपाउने गरेको गुनासो गर्नुभयो ।’

किसानले सस्तो मुल्यमा धान विक्रि गरिरहँदा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिदको सुरुवात भने गरेको छैन । गत बर्ष पनि कार्तिक मध्य तिरबाट धान खरिद गरेको कम्पनीले यस बर्ष पनि तिहार पछि मात्र धान खरिदको सुरुवात गर्ने जनाएको छ ।

कम्पनीका निमित्त प्रमुख चेतमान कठायतले तिहार पछि राजापुर क्षेत्रका तीन स्थानबाट धान खरिदको सुरुवात गरीने बताए । उनले यस बर्ष एक लाख क्विन्टल धान खरिद लक्ष्य आएको बताउँदै किसानहरूलाई आत्तिएर धान सस्तो मुल्यमा नबेच्न आग्रह गरे । गत बर्ष एक लाख क्विन्टल धान खरिदको लक्ष्य भए पनि किसानले धान बेच्न नल्याउँदा ३७ हजार क्विन्टल मात्र खरिद गर्न सकिएको निमित्त प्रमुख कठायतले बताए ।

सहकारीहरूले धान किन्दै 
स्थानीय व्यापारीहरूले किसानहरूको धान सस्तो मुल्य खरिद गर्न थालेपछि केहि बर्ष यता सरकारले तोकेको समर्थन मूल्यमा बर्दियाका कृषी सहकारीहरूले किसानहरूको धान खरिद गर्न थालेका छन् । मधुवन नगरपालिकामा रहेको ताराताल सानाकिसान कृषि सहकारी संस्थाले केही दिन अगाडि देखि धान खरिद सुरु गरिसकेको छ । ठाकुरबाबा नगरपालिकाको सिँहबाहिनी शिवशक्ती कृषक बहुउद्देश्य सहकारी संस्थाले सकारको समर्थन मुल्य धान खरिद गरिरहेको छ । केही सहकारीहरूले तिहार लगत्तै धान खरिद गर्ने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update