काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजी आन्दोलनले सबैको सोच र अवस्था बदलिएको भन्दै यसलाई क्रान्तिकारीहरूले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्ने बताए ।
शनिबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आन्दोलनका नाममा शोषित, उत्पीडित, श्रमजीवी वर्गको बलिदान र उनीहरूको आकाङ्क्षा वा भावनासँग खेलबाड गर्न नहुने बताएका हुन् ।
‘देशमा नयाँ एउटा परिवर्तन भएको छ । जेनजी आन्दोलनले सबैका सोचहरु बद्लिएका छन् । सबैका अवस्था बदलिएका छन् । नेपाली जनता मात्र होइन विश्वभर नै आन्दोलनका तरङ्ग छ । यसलाई क्रान्तिकारीहरूले शोषित, उत्पीडित, श्रमजीवी वर्गको बलिदान र उनीहरूको आकाङ्क्षा भावनासँग जोडेर लान चाहन्छ,’ उनले भने, ‘अर्का थरी मान्छे आजका परिवर्तनलाई उल्टाएर पछि फर्काउन चाहन्छन् । कति मान्छेहरू अलमलिएर बसेका छन् । तपाई–हामी आफूलाई क्रान्तिकारी भन्नेहरूले जहिले पनि क्रान्तिकारी, बस्तुवादी, वैज्ञानिक दृष्टिकोण र सोचबाट यसलाई हेर्नुपर्ने हुन्छ ।’
नेता पुनले आफूहरू हेपिए जस्तो अनुभव भएको भन्दै आजको एजेन्डा अनुसार आफूलाई तयार गर्न प्रतिबद्ध रहँदा कसैको हेला भने नसहने बताए ।
‘आज सत्तामा भएका साथीहरू पनि परीक्षित हुन् । सम्माननीय प्रधानमन्त्री, प्रधानन्यायाधीश भइसक्नुभएको, अर्थमन्त्री, उर्जा मन्त्रीलगायत अरू मन्त्री सबै साथीहरू परीक्षित हुनुहुन्छ । हामी पनि परीक्षित हौँ र हामी परीक्षामा फेरी पनि उत्रन तयार छौ । तर हामीलाई हेपेजस्तो देखिएको छ । सरकारलाई भनेका छौ हामी चुनावका लागि आजको एजेन्डा अनुसार आफूलाई तयार गर्न प्रतिबद्ध छौ तर कसैको हेला सहँदैनौ,’ उनले भने ।