Harsamaya
सरकार मिति तोक्ने तर निर्वाचन नगराउने बाटोमा छ : प्रवक्ता सापकोटा
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सपाकोटा ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सपाकोटाले केही दलहरू चुनावबाट भाग्न खोजिरहेको र सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको आरोप लगाएका छन् ।

बिहीबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले वर्तमान सरकारले जेनजीको मर्मभन्दा फरक ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएकोसमेत  सापकोटाले बताए ।

४३ औँ ‘विश्व खाद्य दिवस’ तथा ‘विश्व भोक दिवस’ को अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा पूर्व सभामुखसमेत रहेका सापकोटाले आफ्नो पार्टी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने र अरू सबै दलहरू पनि सहभागी हुनुपर्ने धारणा राख्दै भने, ‘हामी तयार छौँ, अरू कुनै पनि दल त्यसबाट भाग्न पाइँदैन र वर्तमान सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्छ ।’

उनले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु र अहिले त्यसको लागि तयारी गर्नु भएको बताए ।

आफ्ना पार्टीका नेता कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गरेको विषयतिर इङ्गित गर्दै सापकोटाले भने, ‘सरकारले मुख्य जिम्मेवारी र वास्तविक अपराधीहरूलाई कारबाही गर्नेभन्दा परिवर्तनकारीहरूतिर निशाना सोझ्याइनुले यसको नियत प्रष्ट भएको छ ।’

जेनजी आन्दोलनमा घुसपैठ गरेर महत्त्वपूर्ण भौतिक संरचनाहरू ध्वस्त पारिँदा सुरक्षा निकायको कमजोरी भएको बताउँदै , ‘जनतको करबाट तलब खाने नेपाली सेनाले आफ्नै आँगनमा भएको सर्वोच्च अदालत र सिंहदरबार किन जोगाउन सकेन ? उसमाथि प्रश्न उठेको छ ।’ उनले नेपाली सेनाले आफ्नो बचाउ हैन उसले जनतालाई हरेक प्रश्नको उत्तर दिनुपर्ने सापकोटाले बताए ।

कार्यक्रममा सापकोटाले खाद्य उत्पादन गर्ने जीवन रक्षक किसानलाई अपमान नगर्न चेतावनी दिए । सो कार्यक्रममा माओवादी युवा नेता तथा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दल जीत श्रीपालिले किसानहरूलाई काठमाडौं महानगर प्रमुख बालेन साहले होच्याएकोप्रति आक्रोश व्यक्त गरे ।

पूर्व मन्त्रीसमेत रहेका श्रीपालिले दलित, मजदुर, किसान तथा उत्पीडित जनतालाई होच्याएको बताउँदै भने, ‘प्रचण्डले बगैँचाको सुन्दर फूल भन्नुभयो तर बालेन रूपी फूल विषादीकोरुपमा व्यक्त भयो त्यसलाई नेपाली जनताले चिन्नुपर्छ ।’

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले ४३ औँ विश्व खाद्य दिवसभन्दा पनि विश्व भोक दिवसका रुपमा मनाएको जनाएका छन् ।

श्रेष्ठले करोडौँ जनताको भोक मेटाउने र जीवन दिने किसानलाई होच्याउने कार्य निन्दनीय भएको बताए । महासंघका महासचिव नेहन्द्र खड्काले बालेन साहले किसानलाई ‘फोहोर’ शब्द प्रयोग गरेर होच्याएकोले तत्काल माफी माग्नुपर्ने धारणा राखे ।

अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष प्रकाश श्रेष्ठले बालेन्द्र शाह हरेक पटक अँध्यारा कोठामा बसेर जनताविरुद्धमा षड्यन्त्र नगर्न र किसानहरूलाई अपमान नगर्न चेतावनी दिए ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update