
बाजुरा - बाजुरामा शुपथ मूल्य पसलबाट हालसम्म १०५३.२५ क्विन्टल चामल विक्री भएको छ । नेपालीहरूको महान् पर्व दशैं र तिहारको अवसरमा सञ्चालित सुपथ मूल्य पसलबाट हालसम्म १०५३.२५ क्विन्टल चामल विक्री भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुरामा भदौ ३० गतेबाट सञ्चालन भएको सुपथ मूल्य पसलबाट उक्त चामल विक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराले जनाएको छ ।
कार्यालयबाट हालसम्म १६.२५ क्विन्टल मसिनो र ४२८ क्विन्टल मोटो चामल गरेर ४४४.२५ क्विन्टल चामल बिक्री भएको छ भने कोल्टी डिपोबाट मोटा चामल ५२१ क्विन्टल र ८८ क्विन्टल मसिनो गरेर कुल जिल्लाभर १०५३.२५ क्विन्टल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका खाद्य सहायक भरत बुढाले बताए ।
त्यस्तै हालसम्म चिनी १५.५० क्विन्टल विक्री भएको छ । सुपथ मूल्य पसल सञ्चालन पछि यहाँका स्थानीयलाई थोरै भए पनि राहत मिल्नुका साथै अन्य समयको भन्दा चामल बिक्री वितरण बढी भइरहेको बुढाले जानकारी दिए।
शाखा कार्यालय मार्तडीबाट चामल र चिनी सहुलियत मूल्यमा बिक्री वितरण भइरहेको छ भने कोल्टी डिपोबाट चामल विक्री भइरहेको छ । चाडपर्व लक्षित सुपथ मूल्य पसलमा चामल र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ ।
अरुवा मोटा चामलको साबिकको मूल्य प्रति केजी ६२ रहेकोमा ५ रुपैयाँ छुटमा अहिले प्रतिकेजी.५७ मा किनबेच भइरहेको छ । त्यस्तै स्टिम जिरा मसिनो चामलको साबिकको मूल्य प्रतिकेजी ९० रहेकोमा ५ रुपैयाँ छुट दिएर प्रतिकेजी ८५ रुपैयाँ विक्री भइरहेको छ ।
चिनी साबिकको मूल्य प्रति केजी १०५ रहेकोमा ५ रुपैयाँ छुट दिएर एक सयमा बिक्री भइरहेको छ । सहुलियत पसलका लागि जिल्लामा ३ हजार ५ सय क्विन्टल चामल र २ सय क्विन्टल चिनी कोटा छुटाइ बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ । दसैं–तिहार, छठ पर्व लक्षित सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसल कार्तिक १० गतेसम्म चल्ने भएका छन् ।