काठमाडौं - रुपन्देहीको भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याइने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले जानकारी दिए ।
दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइने भएको हो । वायुसेवा निगमले आइतबार प्रेस विज्ञप्ति जारी गरी सरकारको विशेष निर्देशनबमोजिम सोमबार असोज २० गते उद्धार उडान गरिने जनाएको छ ।
‘ए’ ३२० विमानमार्फत काठमाडौं–भैरहवा–काठमाडौं उडान हुनेछ । ‘आरए’ १७३१ उडानमार्फत दिउँसो १ बजे भैरहवा जाने र उताबाट ‘आरए’ १७३२ उडानमार्फत दिउँसो २:४५ बजे काठमाडौं फर्किने निगमले जनाएको छ । त्यसका लागि काठमाडौंबाट पाँच हजार र भैरहवाबाट सात हजार तोकिएको छ ।
उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । अनलाइन प्रणाली र निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट लिन सकिने निगमले जनाएको छ ।

