चितवन - हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ पठाइएको हो ।
शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको थियो । काठमाडौं जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्याधिक बढेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाएका हुन् । एउटा माइक्रोबसले यात्रु लिएर गएको छ, भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उनले बताए ।
बसलाई जान र फर्किनका लागि सजिलो होस् भन्नका लागि पत्रसमेत बनाइएको उनले जानकारी दिए ।

