
काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान जेनजी सरकारले आफूलाई गिफ्तार गर्ने भन्दै मिडिया ट्रायल चलाईरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत बस्नेतले आफ्नो ज्यानको अन्तिम सास रहुञ्जेल राष्ट्र र राष्ट्रियताको पक्षमा बोलिरहने बताएका छन् । यस्तै उनले दानवीय प्रवृत्तिहरूको विरुद्ध आफूले आवाज उठाएका कारण सत्ताधारीहरूको सातो गएको हुन सक्ने दाबी समेत गरेका छ ।
उनले लेखेका छन्, ‘वर्तमान जेनजी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल चलाइरहेको देखिन्छ । कृपया यस्तो कुकर्म नगरेको राम्रो । राष्ट्रियता, लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोजिरहेका दानवीय प्रवृत्तिहरूको विरुद्ध मैले आवाज उठाएको कारण सत्ताधारीहरूको सातो पुत्लो गएको हुन सक्छ । तर यति मात्र भन्न चाहन्छु मैले देश र राष्ट्रियताको पक्षमा सत्य बोलेको छु, र मेरो ज्यानको अन्तिम सास रहुन्जेल पनि त्यसै पक्षमा बोलिरहनेछु।’
छोटो समयका लागि जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाए त्यसको सामना गर्न नेपाली युवा तयार रहेको उनले बताएका छन् ।
उनले लेखेका छन् ‘एमालेका अध्यक्षको बास स्थान व्यवस्थापन, सार्वजनिक वक्तव्य, भेटघाट कार्यक्रम, र सचिवालय बैठकको आयोजनामा मैले खेलेको भूमिकाप्रति यो असंवैधानिक सरकार थरथरी कामिरहेको छ । यो मेरो दायित्व हो । र कसैले ह्यारेसमेन्ट गरेर मलाई मेरो दायित्वबाट पन्छ्याउन सक्दैन,’।