
काठमाडौं - नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् ।आज शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर खरेलले पदभार ग्रहण गरेका हुन् ।
सोही क्रममा उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढङ्गले ६ महिनाभित्रका केही फाउन्डेसनहरू स्थापना गर्नुपर्ने बताए ।
उनले भने, ‘हुन त ६ महिनाको लागि सञ्चार मन्त्री आएर कुनै कायापलट हुने होइन । तर भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढङ्गले देखिने गरेर र जनतालाई महसुस हुने गरी यो ६ महिनाभित्रका केही फाउन्डेसनहरू हामीले स्थापना गर्नुपर्ने छ ।’
यस्तै, उनले खरानी टकटक्याएर जीवन र धरोहरहरूको पुन निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भ्रष्टाचारको विषयमा सरकार निर्मम भएर काम गरिरहेको छ भन्ने अनुभूति जनतालाई गराउनुपर्ने बताए ।
उनले भने, ‘भ्रष्टाचार पनि ६ महिनामा हट्दैन । तर घटाउँदै जाने हो । जनताले पनि यो विषयमा सरकार निर्मम छ है, काम गर्दै छ है भन्ने अनुभूति गराउन सकिन्छ । हामी खरानी टकटक्याएर जीवन र धरोहरको पुन निर्माण गर्नुपर्ने छ ।’
राजनीतिक हस्तक्षेप भएन भने र नेता र मन्त्रीको चम्चा बनिएन भने स्वतन्त्र रूपमा अगाडि बढ्न सकिने पनि उनको भनाई छ ।