Harsamaya
सरकारसँग छलफलपछि निजी क्षेत्र आशावादी
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग व्यवसायी संघ तथा जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीहरूबीच छलफल ।

काठमाडौं - प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग व्यवसायी संघ तथा जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीहरूबीच छलफल सम्पन्न भएको छ ।

आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबाट क्षति व्यहोरेका उद्योग प्रतिष्ठानको विषयमा प्रधानमन्त्रीसहित उच्च सरकारी नेतृत्वसँग छलफल गरिएको हो ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीले निजी क्षेत्रको चिन्तालाई गम्भीरतापूर्वक लिएको जानकारी दिए ।

‘जेनजी आन्दोलनको क्रममा उद्योग प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटका विषयमा हामीले प्रधानमन्त्रीसँग प्रत्यक्षरूपमा कुरा राख्यौं। उहाँहरूले सम्पूर्ण इस्युहरूमाथि सकारात्मक ढंगले प्रतिक्रिया दिनु भएको छ,’ ढकालले भने ।

उनका अनुसार बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्ना समस्या तथा धारणा प्रस्तुत गरेका थिए । ‘सरकारले क्षति व्यहोरेका उद्योग तथा व्यवसायप्रति आवश्यक सघाउ गर्ने र समस्या समाधानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ,’ अध्यक्ष ढकालले भने ।

प्रधानमन्त्रीको आश्वासनपछि निजी क्षेत्र सकारात्मक र आशावादी बनेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update