-1758444840.jpg)
काठमाडौं - रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ ।
भदौ ३० गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका सामान जाँचपास गरिएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार सो अवधिमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ ।
हाल कोरला नाकामा आशिकुडा प्रणाली पनि सञ्चालनमा आइसकेको छ । साथै नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरिएको छ ।
सरकारले रसुवा र तातोपानी मार्गमा अवरोध कायम रहँदा वैकल्पिक भन्सारमार्फत व्यापारमा निरन्तरता दिन थालेको हो ।